काठमाडाै,३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले राजनीतिलाई शक्ति र स्वार्थको माध्यमभन्दा पनि सेवाको प्रतीकका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिका वडा नं. ८ ले सामाजिक, सांस्कृतिक तथा विभिन्न क्षेत्रका योगदानकर्तालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले समाज निर्माणमा सक्रिय व्यक्तित्वहरूको योगदान लोकतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण हुने बताए।
उनले समाजका विभिन्न क्षेत्रमा निःस्वार्थ सेवा गर्ने व्यक्तिहरूबाट प्रेरणा लिएर राजनीति पनि जनसेवामुखी बन्नुपर्ने धारणा व्यक्त गरे। “राजनीतिलाई वास्तविक अर्थमा सेवाको माध्यम बनाउने आवश्यकता छ, र त्यसका लागि सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्छ,” उनले भने।
कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा ले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुख–दुःखसँग प्रत्यक्ष जोडिएको निकाय भएको बताए। उनले सक्रिय जीवन बिताइसकेका ज्येष्ठ नागरिक तथा समाजसेवीलाई सम्मान गरेर वडाले सकारात्मक उदाहरण प्रस्तुत गरेको उल्लेख गरे।
वडा अध्यक्ष तथा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत ले आफ्नो वडामा विभिन्न क्षेत्रका प्रतिभा र योगदानकर्ताहरू हुनु गर्वको विषय भएको बताए। उनले समाज निर्माणका लागि प्रतिशोध होइन, स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा ज्येष्ठ नागरिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, संस्कृतिकर्मी, कलाकार, साहित्यकार, समाजसेवी तथा विभिन्न पेशा–व्यवसायमा योगदान पुर्याएका करिब ७० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले समाजमा योगदान दिने व्यक्तिहरूको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई सकारात्मक प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको छ। सम्मान कार्यक्रमले समुदायभित्र सामाजिक एकता, योगदानको कदर तथा सेवाभावको संस्कृतिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।




