spot_img

लापरवाहीका कारण दुई भवन निर्माणको ठेक्का रद्द, कन्स्ट्रक्सन कम्पनीमाथि कडा कदम

spot_img
spot_img

बीरगन्ज,३१ जेठ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कार्यमा गम्भीर लापरवाही देखिएको भन्दै दुई वटा भवन निर्माण योजनाको ठेक्का सम्झौता रद्द गरेको छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न नगरेको र पटक–पटकको सूचना तथा आग्रहलाई बेवास्ता गरिएको निष्कर्षसहित उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो।

आर्थिक वर्ष २०८१/०८२ मा सम्झौता गरिएका वडा नं. ७ स्थित फकिरागिरी विद्यालय भवन र वडा नं. १२ को वडा कार्यालय भवन निर्माणको जिम्मा पर्सास्थित एन. के. कन्स्ट्रक्सनले पाएको थियो। तर सम्झौताअनुसार कार्य प्रगति नहुँदा ठेक्का अन्त्य गरिएको अभयकान्त झा ले जानकारी दिए।

उपमहानगरपालिकाले निर्माण कम्पनीलाई कामको प्रगति, स्रोत व्यवस्थापन तथा कार्य सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धतासहित उपस्थित हुन वैशाख २२ गते १५ दिने स्पष्टीकरण सूचना जारी गरेको थियो। तर उक्त अवधिमा न त सन्तोषजनक जवाफ प्राप्त भयो, न त निर्माण कार्यलाई गति दिने कुनै ठोस योजना पेश गरियो।

इन्जिनियर झाका अनुसार निर्माण पक्षको निरन्तर बेवास्ताले उपमहानगरपालिकालाई ठेक्का रद्द गर्न बाध्य बनाएको हो। अब सम्पन्न भइसकेको कामको प्राविधिक मूल्यांकन, नापजाँच तथा वित्तीय हिसाब–किताब प्रक्रिया अगाडि बढाइनेछ।

साथै सार्वजनिक खरिद ऐन तथा सम्बन्धित नियमावलीअनुसार थप कानुनी प्रक्रिया समेत अघि बढाइने जनाइएको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निर्माण व्यवसायी वा उसका आधिकारिक प्रतिनिधिलाई कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

यसैबीच, नगर प्रमुख राजन पौडेल ले विकास निर्माणका काममा ढिलासुस्ती गर्ने र सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने कम्पनीमाथि भविष्यमा पनि कडा कदम चालिने चेतावनी दिएका छन्। आवश्यक परे यस्ता निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने उनले स्पष्ट पारे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय