काठमाडौं,०१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले ‘जेनजी’ आन्दोलनमा सहभागी युवाहरूमाथि लगाइएका झुटा मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले वर्तमान सरकार सोही आन्दोलनका सहिद, घाइते र सहभागी युवाहरूको संघर्षबाट प्राप्त जनादेशकै आधारमा बनेको दाबी गरिन्। तर, अहिले त्यही आन्दोलनमा सक्रिय युवाहरूलाई पक्राउ पुर्जी जारी गर्ने र झुटा मुद्दामा फसाउने काम भइरहेको भन्दै उनले आपत्ति जनाइन्।
सांसद खतिवडाले निर्दोष युवाहरूलाई योजनाबद्ध रूपमा लक्षित गरिँदै आएको उल्लेख गर्दै विशेषगरी पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख आएपछि यस्ता गतिविधि बढेको आरोप लगाइन्।
सरकारले यसअघि आन्दोलनसँग सम्बन्धित मुद्दाहरू खारेज गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै उनले गम्भीर प्रश्न उठाइन्। “युवाहरूको त्याग र समर्थनबिना यो सरकार अघि बढ्न सक्दैन,” उनले भनिन्।
आन्दोलनकारी युवाहरूमाथि लगाइएका सम्पूर्ण झुटा मुद्दाहरू यथाशीघ्र खारेज गरी न्याय सुनिश्चित गर्न उनले सरकारको ध्यानाकर्षण गराएकी छन्।




