काठमाडौं,०२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी संगठन निर्माण अभियानअन्तर्गत हालसम्म ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार ४,३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ। केही जिल्लामा भने भौगोलिक तथा व्यवस्थापकीय कारणले अधिवेशन हुन बाँकी रहेको उनले जानकारी दिए।
अधिवेशन सम्पन्न हुन बाँकी जिल्लामा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, लुम्बिनी प्रदेशको रुकुम पूर्व तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्।
त्यसैगरी अधिवेशन प्रक्रिया सुरु भएर विभिन्न कारणले स्थगित भएका जिल्लामा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका छन्।
रास्वपाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन्। मधेस प्रदेशको अधिवेशन हाल स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी छ।
पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवन मा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। रास्वपाले महाधिवेशनलाई संगठन सुदृढीकरण र भावी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।




