काठमाडाै,०२ असार । कोरला नाका हुँदै भित्रिएका ७७५ वटा बीवाईडी (BYD) कम्पनीका विद्युतीय सवारी साधन करिब दुई सातादेखि नियन्त्रणमा राखिएपछि अन्ततः फुकुवा गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, ३३ नम्बर गुल्म जोमसोमका अनुसार आइतबार साँझदेखि ती सवारी साधन सम्बन्धित पक्षलाई बुझाएर छोड्न थालिएको हो। कोरला नाका र विभिन्न स्थानमा रोकिएका गाडीहरू आवश्यक कागजी प्रक्रिया पूरा भएपछि गन्तव्यतर्फ पठाइँदै छन्।
गत जेठको दोस्रो र तेस्रो हप्तामा कोरला नाका हुँदै कुल ७७५ विद्युतीय गाडी नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ वटा मुस्ताङ भन्सार कार्यालय, नेचुङबाट भन्सार जाँचपास भइसकेका थिए।
तर पैठारी प्रक्रियामा अनियमितता हुन सक्ने आशंकापछि सशस्त्र प्रहरीले ती सवारी साधन नियन्त्रणमा लिएको थियो। पछि अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गतको मूल्याङ्कन शाखाका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले कास्की, पर्वत र मुस्ताङमा स्थलगत अनुगमन गरी कुनै कैफियत नभएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि सवारी साधन फुकुवा गरिएको हो।
सशस्त्र प्रहरीका अनुसार जोमसोम बसपार्कमा रोकिएका २६६ सवारीमध्ये २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने बाँकी ४३ वटा पठाउने प्रक्रिया जारी छ। यसअघि कास्कीको हेमजा क्षेत्रमा ९८ र पर्वतको कुश्मामा १७ वटा सवारी पनि नियन्त्रणमा लिइएका थिए। अब सबै सवारी साधन भन्सार प्रक्रिया पूरा गर्दै क्रमशः गन्तव्यतर्फ पठाइने जनाइएको छ।




