जनकपुर,०२ असार । मधेश प्रदेशका १३६ स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मीहरूले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्।
उनीहरू जनकपुरधाममा धर्ना बसेका छन्, जहाँ जनकपुरस्थित जनस्वास्थ्य प्रयोगशालामा संयुक्त संघर्ष समिति बनाएर विरोध प्रदर्शन भइरहेको छ। आन्दोलनरत कर्मचारीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनादेखि हालसम्म उनीहरूले नियमित तलब पाएका छैनन्। साथै चाडपर्व भत्ता, पोशाक भत्ता, जोखिम भत्ता र महँगी भत्ता जस्ता कानुनअनुसारका सुविधा पनि उपलब्ध नगराइएको उनीहरूको आरोप छ।
उनीहरूले सेवा सम्झौता नवीकरण र म्याद थप प्रक्रिया पनि लामो समयदेखि अलपत्र परेको भन्दै असन्तुष्टि जनाएका छन्। पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै ठोस समाधान नआएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनीहरूको भनाइ छ।
आन्दोलनकारीले तत्काल बाँकी सबै तलब भुक्तानी गर्न, चालु आर्थिक वर्षसम्मको पारिश्रमिक सुनिश्चित गर्न र सेवा सम्झौता अविलम्ब नवीकरण गर्न माग गरेका छन्। उनीहरूले सबै प्रकारका भत्ता सुविधा पनि नियमित रूपमा उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
माग सम्बोधन नभए जनस्वास्थ्य सेवा प्रभावित हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।




