काठमाडौँ,०५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म गर्ने प्रस्ताव अघि सारेको छ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन ले महाधिवेशनको मिति प्रस्ताव गर्दै पार्टीलाई नयाँ ढंगले पुनः संरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार पार्टीले अब परम्परागत शैलीबाट बाहिर निस्केर संगठनात्मक रूपमा नयाँ दिशा लिनुपर्ने समय आएको छ। महाधिवेशनले देशलाई पनि नयाँ सन्देश दिने अवसर हुने उनले बताए।
लिङ्देनले महाधिवेशन प्रक्रिया अघि बढिसकेको भन्दै अब कुनै पनि ढिलाइ वा अन्योल स्वीकार्य नहुने स्पष्ट पारे। उनले निर्वाचन समितिलाई पूर्ण विश्वासका साथ काम गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई तयारीमा जुट्न आह्वान गरेका छन्।
बैठकमा उनले पार्टीभित्र देखिएका असन्तुष्टि र विभाजनप्रति टिप्पणी गर्दै केही नेताहरूको बहिर्गमनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत कमजोर पार्ने प्रयास भएको आरोप समेत लगाए।




