वीरगञ्ज, ७ असार- वीरगञ्जस्थित आइसिपी कार्यालयमा आयोजित “सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना (CRMP)” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले भन्सार सेवालाई अझ प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन सुधार आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नराखी यात्रु आवागमनलाई पनि सहज र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे। उनले यात्रु व्यवस्थापन र सहजीकरणको पक्ष अझै अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गरे।
टेमानीले व्यवसायीका गुनासो सुन्ने र समस्या समाधान गर्ने द्रुत तथा प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँदै व्यापार सहजीकरणका लागि यस्तो प्रणाली अनिवार्य रहेको बताए।
उनले धेरै सीमा नाकामा साना भन्सार कार्यालयको अभाव रहेको औंल्याउँदै त्यस्ता क्षेत्रमा ‘मोबाइल भन्सार सेवा’ सञ्चालन गर्न सुझाव दिए। भन्सार सेवा दिने सवारीमै इन्टरनेट सुविधा राखी आवश्यक प्रक्रिया तत्कालै सम्पन्न गर्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
अन्तरक्रियामा भन्सार सुधारको विकासक्रम, सातौँ CRMP को आवश्यकता, योजना निर्माण प्रक्रिया, रणनीतिक संरचना, रूपान्तरणका क्षेत्र, कार्ययोजनाको ढाँचा, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमानलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति मोहन क्षेत्री, भन्सारका डीएसपी विकास अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पूर्व अध्यक्ष तथा वरिष्ठ उद्योगपति अशोक वैद्य लगायत सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, भन्सार एजेन्ट र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले भन्सार प्रशासनलाई प्रविधिमैत्री, व्यवसायमैत्री तथा सेवाग्राहीमुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौँ भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको बताएका थिए।




