काठमाडौं,०७ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेपालको सार्वभौम अस्तित्वको रक्षा गर्न जंगबहादुर राणा बाट सिक्नुपर्ने बताएकी छन्।
आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जंगबहादुर राणा’ विषयक कार्यक्रममा बोल्दै उनले १९औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा जंगबहादुरले नेपालको स्वतन्त्रता जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
दक्षिण एसियाका अधिकांश भूभाग ब्रिटिश साम्राज्यअन्तर्गत गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल हुनु तत्कालीन नेतृत्वको कूटनीतिक क्षमता र दूरदर्शिताको परिणाम भएको उनको भनाइ थियो।
भण्डारीका अनुसार जंगबहादुरको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न सहयोग पुर्याएको थियो, जसले नेपाल–ब्रिटिश सम्बन्ध व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको थियो। उनले ‘जंगे पिलर’ जस्ता सीमा व्यवस्थापनका संरचनाले प्रशासनिक तथा कूटनीतिक स्थिरतामा योगदान पुर्याएको पनि बताइन्।
उनले सन् १८५७ को भारतीय विद्रोहपछि नेपालले ‘नयाँ मुलुक’ का रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाउनु जंगबहादुरको नेतृत्वसँग जोडिएको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन्।
भण्डारीले वर्तमान सन्दर्भमा राष्ट्रियताको अवधारणा केवल भौगोलिक अखण्डतामा सीमित नभई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र आर्थिक आत्मनिर्भरता जस्ता पक्षसँग पनि जोडिएको बताइन्।
उनले इतिहासबाट शिक्षा लिँदै राष्ट्रियता र लोकतन्त्रबीच सन्तुलन कायम गरेर समुन्नत र आत्मनिर्भर नेपाल निर्माण गर्नुपर्नेमा जोड दिइन्।




