काठमाडौं,०७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन २२ सदस्यीय निर्वाचन संरचना गठन गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको जनाएको हो।
केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ चयन भएका छन्। आयोगमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपी दाहाल, सौरेन्द्र बहादुर शाह र सुदन प्रसाद ज्ञवाली सदस्य रहेका छन्।
महाधिवेशन सञ्चालनका लागि गठन गरिएको निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्य चयन भएका छन्। समितिलाई सहयोग गर्न शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झालाई निर्वाचन कर्मचारीका रूपमा खटाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउने र निर्वाचन प्रक्रिया लोकतान्त्रिक तथा पारदर्शी ढंगले सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन्। रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ।




