काठमाडौं,०७ असार । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत सञ्चालन भइरहेका अस्पताल तथा स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकहरूलाई निर्देशन दिएको छ।
काउन्सिलले जनस्वास्थ्य सेवा ऐनको दफा २१ र २२ अनुसार इजाजतपत्रविनै वा स्वीकृत शय्या क्षमता र कार्यक्षेत्रभन्दा बाहिर सेवा सञ्चालन गर्ने संस्थाहरू गैरकानुनी हुने स्पष्ट पारेको छ। यस्ता संस्थाको सञ्चालन अनुमति स्वतः खारेज हुन सक्ने समेत काउन्सिलले जनाएको छ।
सूचनामा कानुनविपरीत सञ्चालन भइरहेका संस्थामा काम गर्ने चिकित्सक स्वयं पनि कानुनी जोखिम र नैतिक जवाफदेहितामा पर्न सक्ने चेतावनी दिइएको छ।
काउन्सिलले चिकित्सकहरूलाई कुनै पनि स्वास्थ्य संस्थामा आबद्ध हुनुअघि सो संस्थाको स्वीकृत शय्या संख्या, सञ्चालन अनुमति पत्र तथा प्रदान गर्न पाउने सेवाको दायरा अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ। साथै, नियुक्ति लिनुअघि संस्थाको नवीकरण प्रमाणपत्र र कानुनी अवस्थाबारे जानकारी लिनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, कुनै संस्थाले मापदण्ड उल्लंघन गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न नहुन र संस्थालाई कानुनी दायराभित्र रहन सचेत गराउन पनि काउन्सिलले चिकित्सकहरूलाई आग्रह गरेको छ।
काउन्सिलका अनुसार यस निर्देशनले स्वास्थ्य क्षेत्रमा पारदर्शिता कायम राख्नुका साथै चिकित्सकको व्यावसायिक सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्नेछ।




