यो साता नेपाली चलचित्र क्षेत्रमा एउटा नौलो प्रयोग हुँदैछ । पूर्वनिर्धारित मह सञ्चारको चलचित्र ‘दाल भात तरकारी’ ले आफ्नो प्रदर्शन मिति एक सातापछि सारेपछि दीपकराज गिरी तथा दीपाश्री निरौलाले यसअघि कहिल्यै नगरेको निर्णय गरे । हलिउडको ठूलो बजेटको चलचित्र ‘एभेन्जर्सः इन्डगेम’ प्रदर्शन हुने भएपछि दाल भात तरकारी पछि सरेको चर्चा चलिरहेका बेला दीपक र दीपाले आफ्नो पुरानो चलचित्र ‘छक्कापञ्जा–२’ लाई आजदेखि पुनःप्रदर्शनमा ल्याउने निर्णय गरेका हुन् । उनीहरूको यो प्रयोग सफल भयो भने आगामी दिनमा सिनेमा हलमा प्रदर्शन भएको केही महिनामै युट्युबमा चलचित्र अपलोड गर्ने परिपाटीमा कमि आउने चलचित्र समीक्षकहरू बताउँछन् । छक्कापञ्जा–२ सँगै यो साता चलचित्र कालो वर्ष पनि प्रदर्शन हुनेछ ।
एभेन्जर्स : इन्डगेम
निर्देशक : एन्थोनी/जोए रुस्सो कलाकार : रोबर्ट डाउनी जुनियर, क्रिस इवान्स, मार्क रफ्फmालो, क्रिस हेम्सबर्थ, स्कारलेट जोहान्सन, जोस ब्रोलिन आदि ।

आज शुत्रबार प्रदर्शनमा आउने हलिउडको चलचित्र हो— एभेन्जर : इन्डगेम । यो चलचित्रलाई नेपाली दर्शकहरूले समेत प्रतीक्षा गरिरहेका छन् । हलिउडका चलचित्र मन पराउने नेपाली दर्शकमाझ यो चलचित्र चर्चाको विषय बनेको छ । चलचित्रका अघिल्ला श्रृंखला हेरिसकेका दर्शक त लामो समयदेखि यो चलचित्रको प्रतिक्षामा छन् । मार्भल स्टुडियोले निर्माण गरेको यो चलचित्र विश्वव्यापी रूपमै प्रदर्शन हुन लागेको हो । ‘एभेन्जरः इन्डगेम’ को कथाका बारेमा दर्शकहरूले विभिन्न अनुमान लगाइरहेका छन् ।
चलचित्रमा केही सुपरहिरो मर्नेदेखि लिएर केही सुपरहिरोले अवकाश लिएको देखाइने अनुमान गरिएको छ । केही अनलाइनले यो चलचित्रमा आइरन म्यानको मृत्यु हुने अनुमानसमेत गरेका छन् । रोचक कुरा के छ भने यही चलचित्रमार्फत थोर तथा क्याप्टेन अमेरिकाले पनि एभेन्जर्सबाट अवकाश लिँदैछन् । यो चलचित्रमा खलनायकको भूमिकामा प्रस्तुत भएका जोस ब्रोलिनले केही समयअघि नेपालको भ्रमण गरेका थिए । उनी चलचित्र एभरेस्टको छायांकनका क्रममा नेपाल आएका हुन् ।
कालो वर्ष
निर्देशक : लक्षु गौतम कलाकार :ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढाथोकी, रस्मी शाह, रविन भुजेल, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा आदि ।
२०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पले भौतिकमात्र होइन मानवीय क्षतिसमेत गरायो । भूकम्पले गरेको विनासपछि प्रारम्भ भएको पुनर्निमाणको कार्यले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । यही सेरोफेरोमा रहँदै निर्देशक लक्षु गौतमले ‘कालो वर्ष’ शीर्षकको चलचित्र निर्माण गरेका छन् । चलचित्रमा भूकम्पपछि समाजमा सिर्जना भएका लुटपाट, बलात्कार तथा वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरूको पीडा समेटिएको छ । आज शुक्रबार प्रदर्शनमा आउने यो चलचित्रमा भूकम्पपछि एउटा परिवारमा आएको विपत्तिलाई चित्रण गरिएको छ । योगिराम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कालो वर्षको कथा ओकेस पनेरुले लेखेका हुन् । यो चलचित्रमा खेम सारु मगरको संगीत निर्देशन छ भने चलचित्रका गीतमा अञ्जु पन्त तथा विशाल निरौलाको स्वर सुन्न सकिन्छ ।
छक्कापञ्जा–२
निर्देशक : दीपाश्री निरौला कलाकार : दीपकाराज गिरी, जीतु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल आदि ।
दीपाश्री निरौलाद्वारा निर्देशित दोस्रो चलचित्र हो– छक्कापञ्जा–२ । २०७४ साल भदौ ११ गते पहिलो पटक प्रदर्शनमा आएको यो चलचित्रले १४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । यो रकम छक्कापञ्जा तथा छक्कापञ्जा–३ भन्दा केही कम हो । नेपाल बाहिरबाट अत्यधिक माग हुँदाहुँदै पनि निर्माण संस्थाले छक्कापञ्जा–२ लाई यूट्युबमा अपलोड गर्यो । नेपाल भित्रै पनि अधिकांश दर्शकले चलचित्र हेर्न नपाएको गुनासो सुनेपछि दीपक र दीपाले यसलाई पुनः प्रदर्शनमा ल्याउने निर्णय गरेका हुन् । साप्ताहिकसँगको भेटमा निर्देशक निरौला भन्दै थिइन्— ‘वैशाख १३ गते दाल भात तरकारी प्रदर्शन नहुने भएपछि केही वितरण साथीले उक्त मितिमा नयाँ नेपाली चलचित्र नै नहुने भयो, हलिउडको चलचित्रमात्र प्रदर्शन हुने भयो, लौन केही गरौं भन्नुभयो । उहाँहरूको त्यस्तो कुरा सुनेपछि दीपक र मेरो दिमागमा नयाँ आइडिया आयो । सामाजिक कार्यका लागि किन हाम्रै चलचित्र पुनः प्रदर्शन नगर्ने ?’ दीपाश्रीले छक्कापञ्जा–२ नै पुनः प्रदर्शनमा ल्याउने प्रस्ताव राखिन्, जसलाई वितरकहरूले सहजै स्विकार गरे ।
निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार डेढ वर्षअघि प्रदर्शनमा आएको छक्कापञ्जा–२ को तुलनामा अहिले प्रदर्शन हुन लागेको चलचित्र करिब १० मिनेट छोटो हुनेछ । ‘चलचित्रमा हामीले केही नयाँ दृश्य छायांकन गरेर समावेश गरेका छौं भने केही लामा दृश्य काटेर फालेका छौं, अभिनेता गिरीका अनुसार दर्शकहरूको मागकै कारण यसलाई पुनः सिनेमा हलमा ल्याउन लागिएको हो । ‘यो नौलो प्रयोग हो, गिरी भन्छन्— ‘यसमा सफल भयौं भने राम्रै हुन्छ, भएनौं भने पनि दुःख मान्ने छैनौं ।’ छक्कापञ्जा–२ ले पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत सञ्चारकर्मी रवि लामिछानेको पहलमा कालीकोटमा निर्माण भैरहेको अस्पताललाई प्रदान गर्ने घोषणा गरिसकेको छ । ए दाजु नसमाउ नारीमा, म त यता किनारामा, सर र र हुई जस्ता गीत समावेश चलचित्र छक्का–पञ्जा–२ मा प्रियंका कार्कीले स्वस्तिमा खड्काको आमाको भूमिका निर्वाह गरेकी छिन् ।