काठमाडौँ । मौसमविदहरुले बङगालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको जनाएका छन् । फानीकै प्रभावका कारण मौसममा बदली आउनुका साथै हुरी बतास र वर्षा हुन थालेको छ ।
उनीहरुका अनुसार काठमाडौँ उपत्यकासहित पुर्वी भागको मौसम शुक्रबार १० बजेपछि बदलिएको छ । शुक्रबार बिहानैबाट चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परेको तथा मध्य क्षेत्रमा अध्यायारो भएको मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् ।
मौसमविद् पोखरेलका अनुसार शुक्रबार र शनिबार त्यसको असर नेपालमा पर्नेछ ।
‘नेपालमा फानीको प्रभाव देखिन थालेको छ । यसको यसर मौसम नखुल्ने तथा भीषण पानी पर्ने हुरी चल्ने र हिमाली क्षेत्रमा भारी हिमपात हुनेछ । यसबाट बच्न सवैलाई सचेत हुन हामीले आग्रह गरेका छौँ,’ मौसमविद् पोखरेलको भनाई छ । उनका अनुसार मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिवार हिमाली जिल्लामा हवाई उडान रोक्न सम्बन्धित निकायलाई जानकारी दिइसकेको छ ।
‘आज र भोली हिमाली जिल्लाको उडान गर्न पटक्कै मिल्दैन । साथै हिमाल आरोहरणमा गएकाहरुलाई पनि तल झर्र्नु अनिवार्य छ’ मौसमविद् पोखरलले बताइन् ।
जल तथा मौसम महाशाखाका अनुसार नेपालको पूर्वी क्षेत्रमा फानीको असर र मध्यक्षेत्रमा फानी र पश्चिमी वायु मिक्स भएको छ । जसको प्रभाव प्रभाव विस्तारै बढ्दै जानेछ ।
मौसमविद् पोख्रेलका अनुसार शुक्रबार देशभरीकै मौसम खुल्ने सम्भावना छैन । उनका अनुसार आइतबारसम्म पनि त्यसको प्रभाव रहिरहन सक्ने भएकाले सचेतना फैलाउन जरुरी छ ।