नयाँ दिल्ली — दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि आक्रमण गरेको छ ।
चुनाव लक्षित रोड शोका क्रममा दिल्लीको मोतिनगरमा शनिबार केजरीवालमाथि एक युवकले थप्पड प्रहार गरेका हुन् ।
केजरीवाल लोकसभा निर्वाचनका लागि पश्चिम दिल्लीबाट आम आदमी पार्टीका उम्मेदवार बलबीर सिंह जाखडको चुनावी प्रचारमा सहभागी थिए ।
प्रचारका क्रममा केजरीवालसँग जाखड पनि छत नभएको एक गाडीमा सवार थिए । उनीहरु गाडीमै रहेका बेला एक युवकले गाडीमा चढेर केजरीवालमाथि थप्पड प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आम आदमी पार्टीले केजरीवालमाथि भएको आक्रमणमा भारतीय जनता पार्टी (भाजपा) को संलग्नता रहेको आरोप लगाएको छ ।
तर, भाजका नेताहरुले भने चुनावी माहोल आफ्नो पक्षमा पार्न आम आदमी पार्टी र स्वयं केजरीवालले नै आफूमाथि आक्रमण गर्न लगाएको हुनसक्ने आरोप लगाएका छन् ।