काठमाडौं, १९ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयदेखि बाँकी रहेका अनियमित परीक्षा व्यवस्थापनलाई तीव्रता दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले २०५३ सालदेखि छुटेका विद्यार्थीहरूका लागि पनि मौका परीक्षा सञ्चालन गरिरहेको जनाएको छ।
त्रिविका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार असार महिनाभित्र सबै बाँकी परीक्षा सम्पन्न गरी आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।
हाल वैशाख महिनामा मात्रै विभिन्न तह र संकायका चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। जसअन्तर्गत बिएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा विटेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालनमा रहेका छन्।
परीक्षा नियन्त्रण कार्यालयले जेठ महिनाका लागि तीन वर्षे स्नातक तह प्रथम वर्ष, चार वर्षे स्नातक प्रथम वर्ष, बिएएलएलबी तेस्रो वर्ष तथा विटेक तेस्रो वर्षको परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ।
त्यस्तै असार महिनामा स्नातक तहका सबै संकायको चौथो वर्षको नियमित परीक्षा सञ्चालन गरिने तयारी छ।
त्रिविले परीक्षा व्यवस्थापनसँगै नतिजा प्रकाशन प्रक्रियामा पनि सुधार ल्याएको जनाएको छ। परीक्षा सम्पन्न भएको करिब एक सय दिनभित्र नतिजा सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिएका छन्।

