बीरगन्ज,१९ वैशाख । बीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा सञ्चालन भइरहेका स्पा तथा मसाज सेन्टरहरूको अनुगमन अभियान सुरु गरेको छ। मसाज सेन्टरको आडमा अवाञ्छित गतिविधि भइरहेको गुनासो बढेपछि महानगरले नेपाल प्रहरीसँगको समन्वयमा अनुगमन थालेको हो।
नगर प्रहरी इन्चार्ज हरि भुसालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अभियान क्रमशः महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका क्रममा सञ्चालक र कर्मचारीको विवरण, सञ्चालन अनुमति, कर भुक्तानी, सेवा सञ्चालनको प्रकृति तथा मापदण्ड पालना भएको वा नभएको विषयमा जाँच भइरहेको छ।
महानगरले विशेषगरी नाबालिगको प्रयोग गरिएको छ कि छैन भन्ने विषयलाई प्राथमिकताका साथ हेरेको जनाएको छ। हालसम्म गरिएको अनुगमनमा दुई वटा स्पा सेन्टरमा नाबालिग प्रयोग भएको फेला परेको नगर प्रहरीले जनाएको छ।
अहिलेसम्म एक दर्जनभन्दा बढी स्पा तथा मसाज सेन्टरको स्थलगत निरीक्षण गरिएको छ। प्रारम्भिक जाँचका क्रममा केही व्यवसायमा आवश्यक कागजात अपूर्ण रहेको र सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको बताइएको छ।
महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालन हुने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाइने जनाएको छ।

