बीरगन्ज,१९ वैशाख । सीमावर्ती क्षेत्रमा भन्सार जाँच तथा निगरानी कडा गरिएपछि बीरगन्ज बजारमा व्यापारिक गतिविधि बढ्न थालेको व्यवसायीहरूले बताएका छन्। पहिले दैनिक उपभोग्य सामग्री खरिदका लागि सीमा पारि जाने उपभोक्ताहरू अहिले स्थानीय बजारमै किनमेल गर्न थालेपछि बजारमा चहलपहल बढेको हो।
व्यवसायीहरूका अनुसार पछिल्लो समय बीरगन्ज बजारको व्यापार करिब २५ प्रतिशतसम्म वृद्धि भएको छ। स्थानीय व्यापारी जयप्रकाश खेतानले भन्सारमा कडाइ सुरु भएपछि आफ्नो व्यवसायमा मात्रै करिब ३० प्रतिशतसम्म कारोबार बढेको जानकारी दिए।
उनीहरूका अनुसार सीमा क्षेत्रमा अवैध आयात तथा चोरी निकासी नियन्त्रण प्रभावकारी रूपमा जारी रहे व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ। केही व्यवसायीले व्यापार ५० प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गरेका छन्।
बीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले सीमावर्ती क्षेत्रका बासिन्दाले ठूलो मात्रामा सामान ल्याउने पुरानो अभ्यास अहिलेको व्यवस्थाले प्रभावित भएको बताए। यसले स्थानीय बजारलाई सकारात्मक असर परेको उनको भनाइ छ।
यता बीरगन्ज भन्सार कार्यालयले पनि सीमामा कडाइ गरिएपछि अनौपचारिक आयात घट्दै गएको र राजस्व संकलनमा सुधार देखिएको जनाएको छ। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्रै ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने सो अवधिमा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।
विश्लेषकहरूले सीमा निगरानी प्रभावकारी हुँदा अवैध व्यापार घट्ने र स्थानीय बजार तथा सरकारी राजस्व दुवैलाई फाइदा पुग्ने बताएका छन्।

