बीरगंज, ५ जेठ — उदयपुरबाट सोलुखुम्बुतर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा सहचालक सहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
सिद्धिचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका वडा न. १४ लामीडाँडामा आइतबार ना.४.ख. ७००० नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ का २० वर्षीय लिलाबहादुर सार्की र कटारी नगरपालिका ५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको ज्यान गएको हो ।
सिरहाको मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको टिपर पछाडी सार्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो ।
टिपर सडकबाट करिब १५ सय मिटर तल दादुरा खोलामा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालक सिन्धुली नगरपालिका ११ का ४० वर्षीय हर्कबहादुर सार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।