ठोरी ३ मा निर्माण भएको नेपाल टेलिकम (एनटिसी)को टावर आज देखि औपचारिक सन्चालनमा आएको छ।हिजोदेखि परीक्षणका रूपमा सन्चालन गरिएको टावरको आज एक औपचारिक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य सिंहासन साह कलवारले उद्घाटन गरेपछि टावर औपचारिक सन्चालनमा आएको हो।
टावर उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उनले ठोरी ३ लाई सन्चार सम्पर्कमा जोडन सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।उनले आफ्नो प्रदेश २ सरकारसंग रहेको सिधा सम्पर्कको कारण टावर निर्माणकार्यले तिब्रता पाएको जिकिर गरे ।कार्यक्रममा भेला भएका स्थानीयले टावर निर्माणमा पहल थालेको भन्दै प्रदेश सभा सदस्य कलवारलाई माला लगाएर सम्मान समेत गरेका थिए।
सोही कार्यक्रमका विशिस्ट अतिथि जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले टावर निर्माणमा स्थानीय सरकार र जिल्ला समन्वय समितिले पहल थालेकै बेला प्रदेश सांसद सिंहासन कलवारको थप सहयोगले टावर निर्माणले गति लिएको जिकिर गरे।
वडा न ३ का वडाध्यक्ष सुर्य बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य तवरेज आलम ,पर्सा जिल्ला सहअध्यक्ष राम नरेश यादव ,ठोरी गापा संयोजक पुर्ण थिङ ,लगायत समाजवादी पार्टीका जिल्ला स्तरीय नेताहरु लगायत स्थानीयवासीहरुको सहभागीता थियो।
यसैवीच ठोरी ३ को टेलिकमको टावर सन्चालनमा आएसंगै ठोरी गाउँपालिकाका सबै वडामा सन्चार सम्पर्क स्थापित भएको छ।

