नेपाली समाजमा पछिल्लो समयमा आत्महत्याको घटना चिन्ता जनक तरिकाले बढी रहेको देखिएको छ । पछिल्लो तथ्याङ्कहरुलाई हेर्ने हो भने नेपालमा ४१ प्रतिशत भन्दा बढीले आत्महत्या गर्नेहरु वढेको देखिन्छ । अप्राकृतिक मृत्यु अन्तर्गत आत्महत्या गर्ने क्रम नेपालमा चिन्ताजनक तरिकाले वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका विभिन्न अध्यान प्रतिवेदन अनुुसार विश्वमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास प्रत्येक ४० सेकेण्डमा १ जनाले, १ दिनमा ३००० जनाले र बर्ष भरिमा ८ लाख व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ ।
नेपाल विश्वमा सातौं र दक्षिण एशियामा श्रीलंकापछि दोस्रो बढी प्रतिव्यक्ति आत्महत्या हुने देशमा पर्दछ । विश्वमा प्रत्येक १ लाखमा ११ जनाले आत्महत्या गर्ने गर्छन् तर नेपालमा भने प्रत्येक १ लाखमा २४ जनाले आत्महत्या गर्ने गर्छन् । नेपालमा आत्महत्या हुनको समाजिक तथा आर्थिक कारण रहेको देखिन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार कम आर्थिक आय भएको मुलुकहरुमा आत्महत्याको दर उच्च रहेको छ । नेपाल भने समाजिक कारण तथा घरायसी बिवाद पनि आत्महत्या कारण बन्ने गरेको छ । आर्थिक अवस्था ठिक भएको व्यक्तिहरुले पनि आत्महत्या गरेको देखिन्छ । नेपालमा आत्महत्याको गर्नेहरुको संख्या विक्राल रुपमा वढी रहेको भए पनि सरकारले यसको रोकथामको लागि खासै योजना बनाएको देखिएको छैन् ।
आर्थिक वर्ष २०७४/७५ मा नेपालमा आत्महत्या बाट ५३४६ व्यक्तिको मृत्यु भएको तथ्याँक रहेको छ जुन आर्थिक वर्ष २०७३/७४ मा ५१२४ रहेको थियो । यो वर्ष २२२ जना बढी व्यक्तिको मृत्यु भएको तथ्यांक छ । नेपालमा एक दिनमा करिब १५ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको दुःखद स्थिति छ तर नेपाली समाजमा अझै पनि कलंक र लान्छनाको रुपमा हेरिन्छ । प्रदेश नं. २ कै कुरा गर्ने हो भने आत्महत्या गर्नेहरुकोे तथ्याङ्क भयावह रहेको छ । पर्सा जिल्लामा पछिल्लो दुई हप्तामा दर्जन भन्दा वढीले आत्म हत्या गरेका छन् भने त्यसकै हाराहारीमा आत्महत्याका प्रयासहरु भएका छन् ।
एक दिनमा तीन जनाले आत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङ्क देखाएको छ । तराईमा आत्महत्या गर्नेहरुमा पुरुष भन्दा महिला वढी हुने गरेको देखिएको छ । यसरी आत्महत्या दिन प्रति दिन बढी रहदा सरकारी स्तरबाट ठोस योजना बनाएर काम गर्नु पर्ने विज्ञहरुको भनाई रहेको छ । परिस्थितीसँग लडनको लागि छिटै कामहरु नगरिए समस्या झनै जटिल बन्न सक्ने स्पष्ट देखिएको छ । त्यसकारण यसको रोकथामको लागि मनोविमर्श तथा चेतना मुलक अभियान संचालन गर्न ढिला भइरहेको देखिन्छ ।




