रौतहट,०२ असार । रौतहटको बौधीमाई नगरपालिका–६ स्थित एक इँटाभट्टा परिसरमा पानी जमेको खाडलमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय दीपेन्द्र राय यादवका छोरा सुप्रित यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बालक सोमबार दिउँसो इँटाभट्टाभित्र रहेको पानी भरिएको खाडलमा डुबेको अवस्थामा फेला परेका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको नेतृत्वमा थप अनुसन्धान टोली समेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने कार्य सम्पन्न गर्दै बालकको मृत्युको कारण तथा घटनाको वास्तविक अवस्थाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।
स्थानीयवासीका अनुसार इँटाभट्टामा माटो उत्खननका लागि खनिएका खाडलहरू समयमै नपुरिँदा वर्षायाममा पानी जम्ने गरेको छ। यस्ता खुला र गहिरा खाडलले बालबालिकासहित स्थानीयवासीका लागि दुर्घटनाको जोखिम बढाउने गरेको उनीहरूको भनाइ छ।




