काठमाडौं,०२ असार । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको थुनछेक बहस आज विशेष अदालतमा हुँदैछ। बयान प्रक्रिया सम्पन्न भएपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने विषयमा निर्णय गर्नेछ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बहस हुने तय भएको हो। सोमबार बयान प्रक्रिया नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा राखिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। उक्त मुद्दामा सुलभ अग्रवाल, शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोरलाई समेत प्रतिवादी बनाइएको छ। सन्दीप चाचन दलाल नम्बर ५५ सञ्चालन गर्ने ब्रोकिङ कम्पनीका अध्यक्ष हुन्।
अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्सलगायत विभिन्न कम्पनीको रकम दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन र शुद्धीकरण गरेको आरोप लगाइएको छ। यसै प्रकरणमा दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरिएको थियो।
अभियोगपत्रअनुसार भट्टले आर्थिक वर्ष २०७४/७५ मा आफ्नो स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्यांकन गरेर करिब ३५ करोड ६८ लाख रुपैयाँ थप मूल्य देखाई सम्पत्ति वृद्धि गरेको आरोप छ। यस्तै, इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड रुपैयाँ र २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी थपिएको देखिएको छ।
अनुसन्धान निकायको दाबीअनुसार उक्त रकम बैंकिङ कसुर तथा कर्जा अपचलनबाट प्राप्त स्रोतमार्फत लगानी गरिएको थियो। आजको थुनछेक बहसपछि अदालतको आदेशले यस चर्चित आर्थिक अपराध सम्बन्धी मुद्दाको आगामी प्रक्रिया निर्धारण गर्नेछ।




