बीरगन्ज, १५ चैत -शनिबार, आज लकडाउनको पाँचौ दिन । पाँचौ दिन आज, यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना भाईरसका कारण संक्रमित हुनेको संख्या ५ पुगेको छ । अरु देशमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेका बेला नेपालमा भने कछुवा गतिमा संक्रमितको सख्या बढेको छ । यसका दुई कारण हुन सक्छन् । पहिलो कि त नेपाल भाईरसको जोखिमबाट सुरक्षित छ, दोस्रो संक्रमित व्यक्ति सम्पर्कमा आएका छैनन् वा प्रयोगशालाको अभावमा संक्रिमतको स्याब परिक्षण तुरुन्तै हुन सकिरहेको छैन । पहिलो कारणमा एकमत हुनै सक्दैन भने दोस्रो कारणले गर्दा जोखिम झनै बढाएको छ । यद्यपि, जोखिम न्युनिकरण उपायहरु भने अपनाइएका छन् । लकडाउनले गर्दा नेपाललाई केही राहत पनि भएको छ ।
केन्द्र र प्रदेश सरकारको सहयोग शुन्य, परिस्थितिसँग महानगर एक्लै जुध्दैं
बीरगन्ज महानगरपालिका पनि नगरवासीलाई सर्तकर्ता अपनाउन बारम्बार आग्रह गरिरहेको छ । महानगर प्रमुख विजय कुमार सरावगीले शुक्रबार मात्रै फेसबुक मार्फत नगरवासीलाई सुरक्षित रहन आग्रह गरेका छन् । लकडाउनको बेला नगरवासी गर्न हुने र नुहने कुरालाई १४ बुदाँमा सुचीकृत गर्दै सरावगीले आचारसंहिता जारी गरेका हुन् । महानगर प्रमुख सरावगीले यस्तो विषम परिस्थितिमा महानगर आफैले पहलकदमी लिइरहेको बताए । हालसम्म न केन्द्र सरकार न प्रदेश सरकार कसैबाट पनि सहयोगको आश्वासन समेत नपाएको उनले जिकिर गरे । दिने भनिएका सहयोग पनि घोषणा मै सिमित रहेको मेयर सरावगीको गुनासो छ । तथापि महानगरले नगरवासीलाई मात्र नभै सम्पूर्ण पर्सावासीलाई नै केन्द्रित गर्दै जोखिम न्युनिकरणबारे रणनीति बनाईरहेको दाबी गरे ।
कोरोना जोखिम न्युनिकरणका लागि थप तयारी यस्तो
महानगरका स्वास्थ्य अधिकारी अरुन महतोका अनुसार महानगरले कोरोना संक्रमण चेकजाँच गर्ने किट र स्वास्थ्यकर्मीका लागि पीपिई खरिद गर्ने सम्बन्धमा छलफल भइरहेको खुलासा गरे । त्यसैगरी, कोरोना केस हेर्न नारायणी अस्पतालमा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्व मेडिकल टोली गठन भएको उनले बताए । त्यस टोलीमा महानगरका स्वास्थ्य शाखाका प्रमुख र सेनाको स्वास्थ्य टोलीका प्रमुख पनि रहेका छन् । अहिलेसम्म कोरोनाको आशंका लागि नमुना परिक्षणका लागि पठाइएका कसैमा पनि पोजेटिभ नदेखिएको उनले बताए । त्यसकारण, सम्पूर्ण पर्सावासीले आत्तिहाल्नु पर्ने अवस्थामा नरहेको महतोको भनाई छ । यस्तै, कोरोनाका आशंका गरिएका बिरामीलाई राख्न चिनीमिलस्थित सिद्धार्थ माविमा ४० शय्याको क्वारेन्टाइन स्थापन भएको महतोले जानकारी दिए । बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा पनि एउटा ब्लक नै छुट्टै क्वारेन्टाइन स्थापना भएको महतोले थपे र थप क्वारेन्टाइनको व्यवस्थापनका लागि छलफल भइरहेको उनको भनाई छ । यस्तै, नगर सफा गर्ने काम पनि शुरु गरिएको उनले जानकारी दिए । महानगरका टोल–टोलका सडक तथा गल्लीहरु स्यानेटाइज गर्ने काम शुरु गरिएको महतोल बताए । त्यसैगरी, पूर्व निर्धारित कार्यतालिका अनुसार महानगरका ३२ वटै वडामा लामुखट्टेको औषधी छर्कने काम साथसाथै चलिरहेको महतोको भनाई छ । साथै, लामखुट्टे नियन्त्रणका लागि नालाहरुमा मोबिल छर्केर अन्य रोगको जोखिम गर्ने प्रयास भइरहेको पनि जानकारी स्वास्थ्य अधिकारी महतोले दिए ।
विपन्न वर्गलाई राहत वितरण हुदैं
यस्तै, बीरगन्ज महानगरपालिकाले विपन्न वर्गलाई राहत सामाग्री वितरण गर्न शुरु गरेको छ । प्रमुख विजय कुमार सरावगीले शनिबार विपन्न वर्गलाई घरदैलोमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेका छन् । बीरगन्ज महानगरपालिकाको वडा नं. ३ का १ सय १७ परिवारलाई र वडा नं. १२ का ७३ परिवारलाई खाद्य सामाग्री वितरण गरेको मेयर सरावगीले बताए । वितरित खाद्य समाग्रीमा प्रति परिवार साढे २ किलो चामल, आलु, दाल, नून , तेल र चाउचाउको प्याकेट रहेका छन् । लकडाउनको बेला दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने विपन्न वर्गलाई जोहो गर्न समस्या भएको कुरा बाहिर आएपछि महानगरले यस्तो राहत सामाग्री वितरण गरेको हो ।
महामारी रोकथामका लागि प्रत्येक वडालाई ५० हजार प्रदान
बीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ नम्बरका वडा अध्यक्षहरुसँग मेयर विजय कुमार शनिबार सरावगीले छलपल गरेका हुन् । छलफलमा ग्याँस, खाद्य सामाग्री तथा तरकारीलगायका सामग्रीहरुलाई हरेक गाउँमा पु¥याउने कार्यलाई व्यवस्थित रुपमा सन्चालनको जिम्मा वडाका प्रतिनिधिहरुलाई दिइएको हुदाँ व्यवस्थित रुपमा सो कार्य गर्न वडा अध्यक्षहरुसँग मेयरले आग्रह गरे । कोरोना सक्रमण रोकथामको लागि प्रत्येक वडामा गठित कोरोना महामारी रोकथाम समितिलाई ५० हजार रुपैंया उपलब्ध गराउने प्रक्रियालाई अगाडि बढाइएको नगर प्रमुख सरावगीले बताए ।
थप रणनीति तय गर्न कोभिड १९ कमाण्ड पोष्ट टिमको दैनिक मिटिङ्ग
यस्तै, कोरोनाको जोखिमका न्युनिकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कोभिड १९ कमाण्ड पोष्ट टिमको दैनिक मिटिङ्ग भइरहेको छ । सो टिमले पछिल्लो अपडेट सम्बन्धमा छलफल गरी दैनिक रणनीति तयार गर्ने गरेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जानकारी दिए । संक्रमित पुष्टि भएका ५ जना नै विदेशबाट आएको हुनाले विदेशबाट घर फर्किएका व्यक्तिहरुबाट नै कोरोना संक्रमण बढ्ने भएकाले त्यस्ता व्यक्तिको लगत संकलन गर्ने कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । स्थानीय सरकार तथा प्रहरीको सहयोगमा बाहिरबाट आएकाहरुको लगत संकलन गर्नुको साथै उनीहरुलाई होम क्वारेन्टाईनमा राख्ने कार्य समेत भइरहेको कार्की जानकारी दिए ।
लकडाउनको अवज्ञा गर्ने सवारी नियन्त्रणमा
लकडाउनको पाँचौ दिन शनिबार । लकडाउन अवज्ञा गर्ने केही सवारी साधनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न ठाउँबाट प्रहरीले ३१ वटा मोटरसाइकल, ४४ वटा साइकल, एउटा रिक्सा र एउटा ई–रिक्सालाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी उपरिक्षक गंगा पन्तले जानकरी दिइन् । त्यस्तै, लकडाउनको अवज्ञा गर्ने ३ जनालाई पनि नियन्त्रणमा लिइएको पन्तले बताइन् । नियन्त्रणमा लिइएका सबै सवारी साधन प्रहरीले थप छलफल पछि मात्र छोड्ने जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

