spot_img

बाँकेको एउटै पालिकामा भेटिएका ६८ कोरोना संक्रमित,आइसोलेसनमा जान कोही पनि मानेनन्

spot_img
spot_img

नेपालगञ्ज, ६ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरु नेपालगञ्जको आइसोलेसन आउन नमानेपछि स्थिति तनावग्रस्त भएको छ ।

नरैनापुर क्षेत्रका ५९ जनालाई कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई उपचारका लागि आइसोलेसन ल्याउने प्रशासनको तयारी भने जारी छ । पोजिटिभ देखिएकाहरुले आफ्नै ठाउँमा बस्ने अन्यत्र जान नमानेपछि सुरक्षा अधिकारीलाई समेत हम्मे हम्मे भएको छ ।

नरैनापुरमा अहिलेसम्म आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई उपचारका लागि बाँकेको खजुरास्थित प्रखर सुशील कोइराला क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी गरिरहँदा उनीहरुले नजाने अडान लिएपछि सुरक्षा अधिकारीहरुलाई समस्या थपिएको छ ।

कोरोना देखिएको स्थल आसपास केही नभएको र अनावश्यक दुःख दिइरहेको भन्दै स्थानीयले समेत विरोध जनाएका छन् ।

मंगलबार बसेको सुरक्षा बैठकले नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताल र कोहलपुर नगरपालिकास्थित कृषि विकास बैंकको तालिम कक्षमा आइसोलेसन वार्ड बनाएर उनीहरुलाई ल्याउने निर्णय गरिए अनुरुप तयारी सुरु गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

नरैनापुरमा एक जना युवाको कोरोनाबाट मृत्यु भइसकेको छ । सोमवारमात्र नरैनापुरमा ५९ जनामा कोरोना पोजिटिभ देखिएको थियो । यस अघि नरैनापुरमै ८ जनाको कोरोना पोजिटिभ देखिएपछि उनीहरुको दाङ स्थित बेलझुण्डीको आइसोलेशनमा राखेर उपचार भैरहेको छ ।

नरैनापुरका संक्रमितहरुलाई उपचारका लागि एम्बुलेन्स समेत पुगिसकेको थियो । नरैनापुरमा कोरोनाको महामारी बढी देखिएको भन्दै प्रशासनले चारै नाका सिल गरेको छ ।

स्थानीय नागरिकलाई आवतजावतमा समेत रोक लगाइएको छ भने संक्रमितहरु भाग्न नपाउन भनेर सुरक्षा कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । अहिलेसम्म बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ९३ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय