काठमाडौं,२२ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंक ले शुक्रबार ७० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ।
अर्थतन्त्रमा उद्योग, व्यापार तथा निर्माण क्षेत्र अपेक्षित रूपमा चलायमान नहुँदा कर्जाको माग कमजोर बनेको छ।
परिणामस्वरूप बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा रकम निष्क्रिय रूपमा थुप्रिएको छ। सोही अतिरिक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम अवशोषण गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले ७७ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै ७० अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट उठाउने जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्।
आवेदन दिने संस्थाले आफूले राख्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। प्राप्त प्रस्तावमध्ये न्यूनतम ब्याजदरका आधारमा रकम छनोट गरिने राष्ट्र बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कुल मागको सीमाभित्र पाँच करोडले भाग जाने रकमका आधारमा बोलकबोल गर्न सकिने पनि सूचनामा उल्लेख छ।
संकलित रकम २०८३ भदौ ५ गते परिपक्व हुने गरी ७७ दिनका लागि राखिनेछ। बैंकहरूमा ऋण प्रवाह कमजोर रहँदा र निजी क्षेत्रको लगानी सुस्त हुँदा राष्ट्र बैंकले लगातार तरलता व्यवस्थापनका उपकरण प्रयोग गरिरहेको छ।




