काठमाडौं । थप २० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार बाँकेमा १४, कैलालीमा ३, डडेलधुरामा १, बैतडीमा १ र मोरङमा १ जनामा कोरोना देखिएको छ ।
डडेलधुरा र वैतडीमा पहिलो पटक संक्रमण देखिएको हो । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।
यस्तै बाँकेमा नरैनापुरका १३ र राप्ती सोनारीका एक पुरुषमा संक्रमण देखिएको हो । उनीहरु १८ देखि ६१ वर्ष उमेर समूहका रहेका छन् । यस्तै मोरङको रतुवामाई२ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । जसमध्ये ७० जना निको भएर डिस्चार्ज भएको उनले बताए । यस्तै तीन जनाको भने ज्यान गइसकेको छ ।
यस्तै हालसम्म नपालको ४० जिल्लामा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए ।




