
हाल कोरोना महामारीको विषम परिस्थितिमा पुरै विश्व नै नराम्रो तरिकाले प्रभावित भएको छ। नेपाल जस्तो अल्पविकसित देश यसबाट अछुत रहने अवस्था त झन कल्पना पनि गर्न सकिदैन। अर्थब्यबस्था पुर्णतया तहसनहस भएको बेला शिक्षाक्षेत्र त झनै प्रभावित भएको देखिन्छ।
एस.ई.ई., प्लस टू देखि विश्वविद्यालयसम्मको परीक्षा अनिश्चितकालका लागि स्थगित हुनुका साथै नियमित कक्षाहरु संचालन हुन नसकेको र आउदो केही महिनासम्म पनि संचालन गर्न सकिने कुनै सम्भावना नरहेको प्रष्ट छ।
यस्तो परिस्थितिमा सरकारले समेत आह्वान गरीसकेपछी र केही विद्दालय कलेज हरुले आह्वान गर्नुपुर्वदेखी नै अन्लाईन कक्षा (भर्चुअल कक्षा)को माध्यमबाट विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन हरसम्भव कोशिस गरेको देखिन्छ जुन एकदमै सराहनीय कदम हो। तर अन्लाईन कक्षालाई लिएर अहिले चलिरहेको बहस दुई पक्षमा बिभाजित छ।
एउटा पक्ष पुरै विपक्षमै उभेको देखिन्छ भने अर्को पक्ष ‘हुँदै नहुनु भन्दा केही हुनु ठिक” को पक्षमा वकालत गरेको देखिन्छ।
विकसित मुलुकहरूमा यो प्रविधि पहिलेदेखि नै अवलम्बन गरिसकिएकोले ती देशहरूमा अन्लाईन शिक्षालाई सामान्यतया सकारात्मक लिने गरेको नै देखिन्छन्।
झन ‘डिस्टेन्स एजुकेसन’ लाई सजिलै स्वीकार गरेका छन। तर हाम्रो देशमा पुरानै तरिकाले गरिने ‘लेक्चर विधि’ नै अभ्यासमा छ जसले गर्दा अन्लाईन पूर्णरूपले झन्झटिलो लागेको देखिन्छ।
पढाउदा प्रभावकारी हुन नसकेको महसुस गरेको गुनासो सुनिन्छ। त्यही भएर यसको विरोध गर्ने जमातले यसलाई ‘ब्यर्थ समय बर्बाद’ को संज्ञा दिने गरेको पाइन्छ। अन्लाईन कक्षा गराउन होमिएका तर हरेस खाएका शिक्षकहरूको यसको बारेको गुनासो सुन्दा साच्चै जटिल अथवा अलिकति पनि प्रभावकारी छैन जस्तो लाग्नु पनि स्वभाविक नै हो जस्तो लाग्छ।
सामान्यतया सुन्ने गरिएका गुनासाहरु:
१. विद्यार्थीलाई नियन्त्रण गर्न गाह्राे। आफू लेक्चर दिईरहेकै बेला बीच बीचमा विद्यार्थीले हल्ला गर्ने। त्यसलाई नियन्त्रण गर्न सबैको आवाज निष्क्रिय (म्यूट) गर्दा कक्षामा ध्यान दिएको जस्तो गर्ने तर हेडफोन लगाएर अन्त फोनमा कुरा गर्ने।
२. कक्षाकोठामा व्ह्वाइटबोर्ड अथवा ब्ल्याकबोर्डमा मज्जाले लेखेर पढाउन नसकेको। ‘जुम’ र ‘भुभ’ जस्ता सामान्यतया प्रयोगमा रहेको एपमा ‘स्क्रिन सेयर’ गरेर पढाउन मिल्ने सुबिधा भएपनी प्रभावकारी नभएको। कतिपय अवस्थामा शिक्षकले स्क्रिन सेयर गरेर पढाईराख्दा भिडियो बन्द हुने भएकोले कति विद्यार्थी बीचमै कक्षा छोडेर गएको थाहा नहुने र एक्लै चिच्याइरहेको महसुस हुने।
३. कक्षाकोठामा जस्तै नियमित परीक्षा लिन नसकिने भएर कति बुझ्यो बुझेन थाहा नै नहुने भएर एकतर्फी पढाएको जस्तो महसुस हुने।
४. अधिकांश विद्यार्थी ग्रामीण भेगका रहेको र ईन्टरनेटको पहुच कम भएकोले विद्यार्थीको उपस्थिति जम्मा २०-३० प्रतिशत हुनेगरेको।
यी त समस्याहरु हुन। अझै यसमा थप्दै जाने भो भने कति लामो लिस्ट तयार हुन्छ अनुमान लगाउन गाह्रो पर्छ। तर अहिलेको महामारीले अन्लाईन कक्षाको शुरूवात गर्न मजबुर गर्दा पनि केही सकारात्मक पक्षहरू पनि छन जसले आउदा पुस्ताका लागि प्रचुर सम्भावनाहरु सिर्जना गरेको छ।
१. पुरानो पुस्ताका अग्रज शिक्षक, प्राध्यापकहरु जसले चक डस्टरले पढाउन थालेनी गरेर आज भिडियो कन्फ्रेन्स गर्न सम्म सिक्न पाउनुभयो।
२. विद्द्यालय कलेजहरुले शिक्षण सिकाईको एउटा नयाँ प्रविधि पाउनुको साथै प्रयोग गर्ने अवसर पाएका छन।
३. भोलीका दिनमा विद्द्यालय आएर पढ्न नसक्ने विद्यार्थीका लागी घरमै बसेर पढन सकिन्छ भने आशाको जन्म भएको छ।
४. एउटा कुनै शैक्षिक संस्थाको एउटा बन्दकोठामा ४०-५० जना विद्यार्थी पढाउने शिक्षकले आफ्नो अध्ययनअध्यापनको दायरालाई बढाएर विश्वस्तरमा पुर्याउन सकिन्छ भने जगको थालनी भएको छ। नेपालको एउटा कुनामा बसेर पनि बाहिरको विद्यार्थीलाई पढाउन सक्छन जुन नयाँ पुस्ताका शिक्षकका लागि झनै राम्रो हुनेदेखिन्छ।
५. स्थानीयस्तरमा बसेर अध्ययन अध्यापन गराइरहेका शिक्षकले आफ्नो क्षमतालाई विश्वस्तररुपमा चिनाउने अवसरको निर्माण भएको छ।
यस्ता कैयौं सकारात्मक पक्षहरु पनि छन। हामी कुनलाई जोड दिने सोच्न जरुरी छ। एउटा यथार्थ के पनि हो भने अहिलेको स्थितिमा अन्लाईन कक्षा झन्झटिलो, अथवा कम प्रभावकारी अवश्य हो तर विस्तारै प्रभावकारी बनाउनै नसकिने भन्ने असम्भव पनि छैन।
माथीका सम्स्याहरुको अहिले पनि केही समाधान छन :
जस्तै हल्ला गर्ने विद्यार्थीलाई हटाउन (रिमुव गर्न) मिल्ने, पिडीएपफ फाइलहरु सेयर गरेर पढाउने, इत्यादी। र यसरी समाधान गर्न खोज्दा पनि फेरि केही न केही जटिलता आउछ नै। अन्लाईन कक्षा समयको माग हो र यही यथार्थ हो। समयानुकूल हामी अघि बढ्नैपर्छ।
यसलाई अझै प्रभावकारी बनाउने उपकरण तथा उपायहरु पनि बिस्तारै आउने नै हो। शिक्षक र विद्यार्थी दुबैले विस्तारै यो पनि सामान्य शिक्षण सिकाइको एउटा अङ्ग हो भनेर स्वीकार गर्नैपर्ने हुन्छ।
र विस्तारै आफै विद्यार्थीको उपस्थिति, अनुशासन तथा शिक्षकले आफुलाई प्रस्तुत गर्ने क्षमता तरिकामा पनि सुधार हुँदै जान्छ। तर यसको लागि पाएको अवसरमा सकारात्मक तवरले प्रयास गर्नु अत्यन्त जरुरी छ। र प्रयास गर्नेहरू सफल भएको उदाहरण प्रशस्तै छन।
कुनै जमानामा मोबाइलफोन कस्तो हुन्छहोला भनेर कल्पना समेत नगेरका हाम्रा अग्रजहरुले किपैड (गोटीवाला) मोबाइलफोन शुरुमा चलाउन पाउँदा पनि जटिलता महसुस गरेको हो भन्ने वास्तविकताबाट पर भाग्न मिल्दैन।
आज ती अग्रजहरुले पनि मज्जाले समार्टफोन चलाएर सोसलमिडीयाको आनन्द लिएर समय गुजारिरहेको उदाहरण हाम्रै वरिपरि प्रशस्त छन। गर्न चाहे सबै सम्भव छ, नचाहे मुखमा राखिसकेको खाना निल्न पनि असम्भव छ। समयको मागसङ्गै सकारात्मक भएर अघि बढ्नु नै हाम्रो पुस्ताका लागी बुद्धिमानी सावित हुनेछ।
–

