बारा,०२ असार । जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले संघको आगामी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै असार ७ गते निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ।
संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उद्योगी–व्यवसायी, सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा संघले प्रकाशित गरेको स्मारिकाको विमोचन गरिएको थियो भने अध्यक्ष शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पनि सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। बन्दसत्रमा उद्योग, व्यापार र लगानी क्षेत्रका चुनौती, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका सरोकारका विषयमा व्यापक छलफल भएको थियो।
अधिवेशन सफल बनाउन सहयोग पुर्याउने विभिन्न सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीप्रति संघले आभार व्यक्त गरेको छ। साथै, स्मारिकामा शुभकामना सन्देश प्रदान गर्ने मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी तथा अन्य शुभेच्छुकहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।
उद्घाटन सत्र सम्पन्न भएसँगै आगामी नेतृत्व चयनको जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ। निर्वाचन अधिकृत अधिवक्ता शरदचन्द्र भट्टराईका अनुसार असार ७ गते निर्वाचन सम्पन्न हुनेछ भने असार ११ गते नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष मोहन शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा उद्योगी–व्यवसायीप्रति आभार व्यक्त गरे। उनले उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकासका लागि संघ सधैं प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दै “जय उद्योग, जय व्यापार, जय पर्यटन” को नारालाई आत्मसात् गर्दै अघि बढ्न सबैलाई आग्रह गरे।




