नेपालगन्ज : अस्पतालले उपचारमा लापरबाही गरेकाे कारण बिरामीकाे मृत्यु भएकाे भन्दै आफन्तजनले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
शल्यक्रियाका गराइएकी बिरामीको होस नआएर मृत्यु भएको भन्दै परिवारले नेपालगन्जस्थित वेस्टर्न अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।
उपचारका लागि आइतबार ल्याइएकी बर्दियाको राजापुर नगरपालिका–१० कोठियाघाटकी ४१ वर्षीया नारायणी कुमारी बोहराको बुधबार बिहान मृत्यु भएको थियो ।
बोहराको पाठेघरमा पलाएको ट्युमरको मंगलबार ४ बजे शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि होस नखुलेपछि बुधबार बिहान नेपालगन्ज मेडिकल कलेज पुर्याइएको थियो । मेडिकल पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरे ।
अस्पतालका चिकित्सकले पाठेघरको मासुको डल्लो निकाल्न शल्यक्रिया गरिएको दाबी गरेका छन् । पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको १६ गते मंगलबार शल्यक्रियामार्फत ट्युमर निकालिएको थियो ।
शल्यक्रियापछि १६ घण्टा पुग्दासमेत बिरामी होसमा नआएपछि परिवारले बिरामीको अवस्था जानकारी गराउन चिकित्सकहरुलाई दबाब दिएका थिए । तर चिकित्सकहरुले भने अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ भन्दै टार्दै आएको आफन्तले बताए ।
मृतकका पति मोहन बुढाथोकीले दबाब दिएपछि मात्र आफूहरुलाई आइसियुमा जान दिएको बताए । बिरामीको अवस्था जटिल देखेपछि उनीहरुले त्यहाँबाट मेडिकल कलेजमा पुर्याएका थिए । तर मेडिकल कलेजले बिरामीको पहिल्यै मृत्यु भइसकेको जानकारी दियो । नारायणीको डाक्टर कल्पना थापाले शल्यक्रिया गरेकी थिइन् ।
चिकित्सकहरुको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै कानुनी कारबाही हुनु पर्ने परिवारको माग छ । पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासनमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
शवलाई मेडिकल कलेज नेपालगन्जमा राखिएको छ । कोरोनाको परीक्षण गरिएकोमा उनको रिपोर्ट आउन बाँकी छ ।




