काठमाडौं,०२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि चितवनको रत्ननगरस्थित होटलमा आयोजना गर्ने योजना रहेको महाधिवेशन अब भरतपुरमा हुने भएको हो।
पार्टीका अनुसार महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा आयोजना गरिनेछ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतम ले महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पाहुनाहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा आवास व्यवस्थापन गरिएको जानकारी दिए।
महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले तयारीलाई तीव्रता दिएको छ। स्थानीय, जिल्ला तथा नगर समितिसहित केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा उपसमिति गठन गरी व्यवस्थापन, आवास, यातायात र अन्य आवश्यक तयारी अघि बढाइएको पार्टीले जनाएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक भविष्य र नेतृत्व संरचना निर्धारण गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।




