कैलालीका तटीय क्षेत्रका नागरिक भारी बर्षा पर्दा त्रासमा बस्नबाध्य बनेका छन् ।
कैलालीका तटीय क्षेत्रमा सोमबार रातिदेखि लगातार भारी वर्षाका कारणले नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । टीकापुर–८ श्रीलङ्काका नागरिकहरू पानी पर्दा चैतमै नदी कटान शुरु भएकोमा चिन्तित छन । “नदीले धार परिवर्तन गरेर जमीन कटान तीव्र परि बगिरहेकाे छ”, स्थानीय झपट बुढाले भने, “पानी पर्दा बाढी आउने त्रासले सुत्दैनौँ ।”
सोमबार रातिदेखि निरन्तर वर्षा भएपछि कर्णाली नदीमा पानीको बहावसमेत बढेको छ । कर्णाली नदीले कटान शुरु गर्न थालेपछि श्रीलङ्कावासी रातभर निदाउन सक्दैनन् । “पानी परेको बेला नदीको सतह बढ्ने र बाढी गाउँ पस्ने डरले निदाउन सक्दैनौँ”, स्थानीय शिक्षक पदम बुढाले भने, “पानी धेरै परेको दिन हामी सुत्दै सक्दैनौँ, अग्लो ठाउँमा गएर रातभर बसिराख्छौँ । वर्षायाम त्रासमै बित्छ । वर्षा भइरहेको दिन ध्यान नदीतिरै हुन्छ ।”
पहाडी क्षेत्रमा पानी परेपछि नदीमा पानीको सतह बढ्ने र कटान शुरु हुन्छ । यहाँ स्थानीयको सयौँ बिघा जमीन नदीमा मिसिएको छ । बर्सेनि नदी कटानले श्रीलङ्काका खड्क साउद, कालु साउद, गोपाल साउद, बलवीरे टमट्टा, डंग्ला चौधरी र दीपेन्द्र भण्डारीसहित दर्जनौँ किसानको सयौँ बिघा जमीन नदीमा मिसिएको छ ।
“नदीले बर्सेनि २० बिघाभन्दा बढी जमीन कटान गर्छ । साविक धनसिंहपुर गाविसको वडा नं १ पूरै कटान भएर नदी बगिरहेको छ”, कालु साउदले भने, “पछिल्ला तीन वर्षमा मात्रै हजार बिघाजति जमीन कटान भएको छ ।”
नदी कटानले यहाँको खेतीका लागि उर्वरभूमि बालुवामा परिणत हुँदै गएको छ ।
कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ तटबन्ध निर्माण गरेपछि कैलालीतर्फ नदीको कटान तीव्र भएको हो । यहाँ विसं २०६० बाट नदीले कटान शुरु गरेको हो, तर पछिल्लो तीन वर्षयता कटान तीव्र छ । नदीले कटान तीव्र पारेपछि यहाँका स्थानीयवासीले स्थानीय तहदेखि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै सङ्घीय सरकारसँग पटक–पटक गुहार मागे पनि दीर्घकालीन समाधान नभएको उनीहरुको गुनासो छ ।




