नेपालगञ्ज । भारतबाट आएको सलहको ठूलो झुण्ड बाँके हुँदै नेपाल प्रवेश गरेको छ । बिहीबार बिहान नरैनापुरमा सलहको ठूलो झुण्ड देखिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।
‘सलहको ठूलो झुण्ड शुरुमा नरैनापुरमा देखिएको थियो, अहिले जानकी गाउँपालीकामा रहेको छ, यो झुण्ड अहिले विस्तारै उत्तरपश्चिमतर्फ अगाडी बढिरहेको छ, विहनैदेखि हामी फिल्डमै छौं, उनले भने ।’
धान रोपाई सकिसकेको अवस्थामा सलहको बथान देखिएपछि किसान चिन्तित छन् ।


यद्यपी क्षतिको विवरण भने प्राप्त भइनसकेको बताइएको छ । सलहले गाउँ नै छोपेको र भगाउने प्रयास जारी रहेको बताइएको छ ।
सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरिरहेका छन् । सलह देखिएपछि सतर्क रहन कृषि प्राविधिकहरुले आग्रह गरेका छन् ।




