नेपालगञ्ज, १८ साउन । बाँकेको नेपालगञ्जमा सर्पदंशका घटनामा वृद्धि भएको छ । नेपालगञ्जमा रहेको भेरी अस्पतालमा सर्पदंशका बिरामीहरुको चाप बढेको हो ।
वर्षायाम सुरुभए सँगै वृद्धि भएका सर्पदंशका घटनाका कारण अस्पतालका आकस्मिक र आईसियु भरिभराउ छन् । प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपनि गम्भीर प्रकृतिका विषालु सर्पदंशको उपचार नहुँदा बिरामीहरुलाई भेरी अस्पताल रेफर गर्ने गरिन्छ ।
हालै सञ्चालनमा आएका सर्पदंश उपचार केन्द्रमा आईसियु वार्ड र भेन्टिलेटर नहुँदा उपचारमा समस्या भएको उपचार केन्द्र प्रशासनको भनाई छ ।
भेरी अस्पतालका अनुसार हाल दैनिक ५ देखि १० वटा सम्म सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । जसमध्ये अधिकांश आकस्मिक कक्षमा उपचार पछि घर फर्किन्छन् । तर, गम्भीर प्रकृतीका बिरामीहरुलाई आईसियुमै राखेर उपचार गर्नुपर्छ ।
भेरी अस्पतालका डा. पारस पाण्डेका अनुसार ५ दखि ६ जनालाई एन्टी स्नेक भेनम दिन भेन्टिलेटरमै राख्नुपर्छ । उनका अनुसार अहिले सर्पदंशका घटनामा केही कमी आएको छ । पछिल्लो हप्ता आईसियु, आकस्मिक र भेन्टिलेटर सर्पदंशका बिरामीहरुबाट भरि भराउ रहेको डा. पाण्डेले सुनाए ।
पछिल्लो समय तराई क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि हुँदै गएको छ ।
सर्पदंश उपचार केन्द्रलाई अत्याधुनिक र सुविधासम्पन्न बनाईनु आवश्यक रहेको स्थानियहरुको भनाई छ ।




