नेपालगञ्ज, १८ साउन । संक्रमण समुदायमा प्रवेश भएसँगै अवस्थालाई भयावह हुन नदिन र संक्रमणलाई न्युन राख्न बाँके जिल्ला भरि आईतबारबाट निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको पहिलो दिन आईतबार बाँकेको सदरमुकाम नेपालगञ्ज सुनसान रह्यो । प्रहरीको चौकस पहराका बिच नेपालगञ्जमा निषेधाज्ञा कार्यान्वयन गराउन स्थानिय प्रशासन सक्रिय छ ।
निषेधाज्ञा बहालीसँगै नेपालगञ्जका सडकहरुमा सन्नाटा छ । सर्वसाधारणको हिँड्डुल निकै न्युन छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन् । सुरक्षा, सञ्चार र खाद्यान्न बाहेकका सवारीहरु चलाउन दिइएको छैन ।
पिसिआर परिक्षणको दायरा बढाइएको खबर छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगका अनुसार कोरोनाको हटस्पट पहिचान गरि सिल गर्ने तयारी भईरहेको छ । प्रजिअ कुरुम्वांगले निषेधाज्ञाको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
यता स्थानियहरुका अनुसार प्रशासनले भारतसँग जोडिएका सिमानाकामा कडाई गर्न सकेको छैन । भारतबाट नेपाल सर्वसाधारणहरुको आवतजावतका कारण समुदायमा संक्रमण फैलिएको स्थानियहरुको आरोप छ ।
तस्बिरमा हेर्नुस्, निषेधाज्ञाको पहिलो दिन सुनसान नेपालगञ्ज ।









