काठमाडौं २२ भदै । प्रधानाध्यापक अपहरणका विप्लवका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ परेका छन् ।
भदौ १३ मा छात्रवृत्ति वितरणको तयारी भईरहेको बेला सिन्धुलीको तिनपाटन गाउँपालिकास्थित भिमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारीलाई करिब एक दर्जनको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । गाउँलेले उनलाई महभीरको जंगलबाट अपहरणमुक्त गाराएका थिए।
अपहरणमा संलग्न विप्लव समूहका सिन्धुली जिल्ला समिती सदस्य राजिव सुनुवारलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रञ्जु सिग्देलले जानकारी दिइन् ।
काठमाडौंको जोरपाटी स्थित नेपाल अर्थोपेडिक अस्पतालमा उनि नाम बदलेर भर्ना भएका थिए । रुद्र बहादुर सुनुवारको नाममा अस्पताल भर्ना भएका उनलाई आईतबार साँझ अस्पतालले डिस्चार्ज गरेपछि महानगरीय अपराध महाशाखाले पक्राउ गरेर सिन्धुली पठाएको छ ।
राजिव सहित प्रअ अपहरणमा संलग्न ९ जना पक्राउ परेका छन् । उनिहरुलाई अपहरण तथा विष्फोटक पदार्थ मुद्दामा अनुसन्धान भइरहेको सिन्धुलीकी एसपी सिग्देलले बताईन् ।
जिल्ला सदस्य राजिवको पुराना मुद्दा सिन्धुली जिल्ला अदालतमा बिचाराधीन छ । उनी अदालबाट फरार आरोपी पनि हुन् ।

