बीरगन्ज, २५ भदाै । गत भदाै २२ गते उपचार नपाएर मृत्यु भएका बाराका विक्रम चाैधरीकाे घटनाका सम्बन्धमा स्थानिय प्रशासनले छानबिन गर्ने भएकाे छ ।
नारायणी अस्पतालले बाराकाे कोल्हवी नगरपालिका–४ सपही बस्ने विक्रम चौधरीको मृत्यु उपचार नगर्दा भएकाे परिवारजनकाे आराेप छ । यस घटनाका सम्बन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्सा र नारायणी अस्पतालले छुट्टाछुट्टै टाेलि गठन गर्ने भएकाे छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले तीन सदस्यीय छानबीन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि दोषी ठहरिएकालाई नियम अनुसार कारबाई र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने जानकारी गराएका छन्।
यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले यस घटनाकाे छानबिनका लागि टाेलि गठन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ पत्राचार गरिसकेकाे छ ।
उपचार नपाएर मृत्यु भएका विक्रमले न्याय पाउने झल्काे देखिएकाे छ ।
तर, साउन महिनामा बीरगन्जमै उपचार नपाएर ८ जनाकाे मृत्यु भएकाेमा अझै सम्म पनि कसैले न्याय पाउन सकेका छैनन् । ति ८ जना मध्ये काेहीले अस्पताल र उपचारकाे खाेजीमा ज्यान गुमाउन बाध्य भए त काेहीले उपचारका नाममा लापरवाहीका कारण ज्यान गुमाए ।
निजी तथा सामुदायिक अस्पतालले उपचार गर्न नमान्दा कारवाही गर्ने निर्णय गरेकाे प्रशासनले भने पटकपटक अस्पतालकाे लापरवाही भएकाे खबर पाउँदा पनि माैन भएर बसिरह्याे ।
श्रावन २४ गते (छपकैया) २० वर्षीय युवती विष्णु लामा, श्रावन २७ गते (बारागढी) १३ वर्षीय बालक सुशीलकुमार साह , श्रावन २२ गते (श्रीपुर) ६० वर्षीय चलितर महतो, श्रावन २३ गते (छपकैया) ७४ वर्षीय जग्गु साह, श्रावन १७ गते ७० वर्षिय कलावती देवी, श्रावन २० गते (घडिअर्वा) ५७ वर्षिय वृद्धा, श्रावन २४ गते (राधेमाई) ६० वर्षिय वृद्धा, श्रावन २४ गते (रामटोल) १७ वर्षिय अनिसकुमार गुप्तालगायतकाहरूकाे यहाँका अस्पतालले उपचार गर्न नमान्दा ज्यान गएकाे हाे ।
अस्पतालकाे लापरवाहीले बिरामीकाे मृत्यु भएकाे भन्दै आफन्तजनले नारायणी अस्पतालमा ताेडफाेड समेत गरे । प्रदर्शन गर्न आएको भीडमा आक्रोश थियो । आक्रोश सिस्टमप्रति । अस्पतालहरुले भन्ने प्रोटोकल प्रति । ताेडफाेडका क्रममा एक जना चिकित्सककाे गाडीकाे सिसा फुट्याे । तर, गाडीकाे लागि न्याय माग्नेहरूकाे भिड अगाडी लापरवाही विरूद्ध न्याय माग्नेहरूकाे भिड काम लागेन ।
पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारीकाे आगमन भएपछि दाेषी सबैलाइ कारवाही हुने आशा गरिएपनि त्यसाे हुन सकेकाे छैन ।
संकटकालको अवस्थामा पनि नेपालको संविधानको धारा १६ मा उल्लेखित प्रत्येक व्यक्तिको सम्मानपूर्वक बस्न पाउने हक र धारा ३५ मा उल्लेखित प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक निलम्बन गर्न नसकिने संवैधानिक व्यवस्था छ । तर, अस्पतालवालाहरुले यो व्यवस्थाको त फिटिक्कै कदर गरेको देखिदैन ।
नारायणीमा उपचार नपाएर मृत्यु हुनेमा बाराका विक्रम चाैधरी पहिलाे व्यक्ति पक्कै हाेइनन् । गत साउन २४ उपचारका लागि भाैतारिँदै मृत्यु भएकी २० वर्षिय युवतीलाइ त नारायणीमा भर्ना समेत लिइएन । नारायणीले बिरामीलाई तुरुन्त अक्सिजन दिनुपर्छ भन्ने सल्लाह दियो । तर, अक्सिजन दिईएन । सायद, सल्लाहभन्दा महंगाे अक्सिज थियाे, हाेला ।
नाफा भन्दा बाहेक नदेख्ने निजी अस्पतालहरूलाइ कारवाहीकाे दायरामा ल्याइनु अत्यवाश्यक छ ।
यस्ता उपचार नगर्ने अस्पतालहरूलाइ कारवाही गर्न प्रशासनसँग यथेष्ट प्रमाण छ । तर, कारवाही गर्न सकिएकाे छैन । प्रशासनले नै मेडिकल माफियाहरूलाइ प्रश्रय दिने हाे भने आम नागरिककाे न्याय प्राप्तिकाे अधिकार कुण्ठित हुन बेर लाग्दैन ।

