काठमाडौं,०१ असार । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत बढ्दो साइबर ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। ब्यूरोले सोमबार सूचना जारी गर्दै अनावश्यक तथा अपरिचित मोबाइल एप डाउनलोड वा इन्स्टल नगर्न चेतावनी दिएको हो।
ब्यूरोका अनुसार पछिल्लो समय विश्वकप २०२६ लगायतका लोकप्रिय कार्यक्रम निःशुल्क हेर्न सकिने भन्दै विभिन्न लिंक तथा एप डाउनलोड गर्न लगाउने घटनाहरू बढिरहेका छन्। यस्ता एपमार्फत प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ सम्बन्धी जानकारी चोरी गरी आर्थिक ठगी गर्ने प्रवृत्ति देखिएको छ।
साइबर ब्यूरोले बैंक तथा वित्तीय संस्थाको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैंकिङ प्रणाली तथा मोबाइल बैंकिङ एप अपडेट गर्न सुझाव दिएको छ। अपरिचित स्रोतबाट प्राप्त लिंक, एप वा सन्देशमा विश्वास नगर्न पनि आग्रह गरिएको छ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीद्वारा जारी सूचनामा विश्वकप २०२६ हेर्न सकिने प्रलोभन देखाई विभिन्न अनुमति (Permissions) माग्ने, मोबाइलमा मालवेयरयुक्त एप इन्स्टल गराउने तथा मोबाइल बैंकिङ ह्याक गरी आर्थिक क्षति पुर्याउने गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ।
साइबर ब्यूरोले कुनै पनि एप डाउनलोड गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।




