काठमाडौं,०१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा बढी रकम माग गरिएमा प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
मन्त्री श्रेष्ठले पदभार सम्हालेपछि गुनासो व्यवस्थापन र छिटो समाधानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने अभियान अघि बढाएका छन्। सोही अभियानअन्तर्गत विद्युत् सेवासम्बन्धी गुनासो तथा समस्याको सुनुवाइका लागि सञ्चालनमा रहेको हटलाइन ११५१ लाई अझ सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको चैत १३ गतेयता हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको छ। विद्युत् अवरोध, ट्रान्सफर्मर बिग्रिनु, पोल तथा मिटरको अभाव, भूमिगत विद्युत् जडानलगायतका समस्या प्रमुख रूपमा उठेका छन्।
सेवाग्राहीले सहज र छिटो सेवा पाउने वातावरण निर्माण गर्न मन्त्रालयले यस्ता समस्याको समाधानलाई तीव्रता दिएको जनाएको छ। साथै संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले उठाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित गुनासोलाई पनि प्राथमिकताका साथ सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
सुशासन र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ। उक्त एकाइले मन्त्रालय तथा मातहतका निकायहरूको कार्यसम्पादन, कानुनी समयसीमा पालना, सेवा प्रवाहको प्रभावकारिता तथा सरकारी स्रोत–साधनको उपयोगको नियमित अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ‘डेलिभरीमा आधारित शासन प्रणाली’लाई प्राथमिकता दिँदै सेवाप्रवाह सुधार, गुनासो व्यवस्थापनको प्रभावकारिता र कर्मचारीको उत्तरदायित्व अभिवृद्धिमा विशेष जोड दिएको छ।




