महोत्तरी,०१ असार । गर्मीको प्रभावसँगै महोत्तरी जिल्ला मा सर्पदंशका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वर मा दैनिक रूपमा सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन्।
अस्पतालका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार अहिले दैनिक करिब पाँच जना बिरामी सर्पदंशको उपचारका लागि आउने गरेका छन्। उनका अनुसार अत्यधिक गर्मीका कारण विषालु तथा विषरहित सर्पहरू सक्रिय भई खेतबारी तथा बस्ती क्षेत्रमा देखिन थालेका छन्।
गत जेठ महिनामा मात्रै अस्पतालमा ५६ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका थिए भने वैशाखमा २३ जना बिरामी आएका थिए। यसरी संख्या क्रमशः बढ्दै गएको अस्पतालले जनाएको छ।
महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिकामा गर्मीयाममा सर्पको जोखिम उच्च रहने गरेको छ। यहाँ ढोरिया र हरहरा जस्ता विषरहित सर्प तथा करेत र गोमन जस्ता विषालु सर्प बढी पाइने बताइएको छ।
अस्पतालमा एन्टिभेनम औषधि पर्याप्त मात्रामा उपलब्ध रहेकाले उपचारमा समस्या नभए पनि आइसियु कक्ष नहुँदा गम्भीर अवस्थाका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।




