spot_img

आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात, करिब एक अर्ब ४० करोड आम्दानी

spot_img
spot_img

काठमाडौं,०१ असार । नेपालले सोमबार (आज)देखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो ।

नेपाल विद्युत् प्राधिकरणबाट त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न अनुमति छ ।

नेपाल–बंगलादेश सीमा नजोडिएका कारण भारतीय संरचना प्रयोग गरी बिजुली बिक्री गर्नुपर्छ । जसलाई भारतको अनुमति अनिवार्य हुन्छ । भारतीय स्वीकृतिअनुसार दुई आयोजनाको विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यातको अनुमति छ ।

नेपालले बंगलादेशलाई हरेक वर्ष वर्षायाम तथा त्यसपछिको उच्च उत्पादन अवधिमा विद्युत् निर्यात गर्दै आएको छ । यसवर्ष पनि जुन १५ देखि नोभेम्बर १५ सम्म करिब पाँच महिनाका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ ।

यद्यपि, बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने इच्छा व्यक्त गरे पनि आवश्यक भारतीय स्वीकृति नपाएकाले यो वर्ष अतिरिक्त विद्युत् निर्यात सम्भव नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को २०८२ मंसिर ११ मा बसेको सातौँ बैठकले हाल आयात भइरहेको ४० मेगावाटमा थप २० मेगावाट विद्युत् आवश्यक प्रक्रिया पूरा गरी आयात गर्ने उल्लेख गरेको थियो ।

तर, भारतबाट ट्रान्जिट तथा व्यापारसम्बन्धी थप स्वीकृति नआएकाले यो योजना तत्काल कार्यान्वयन हुन नसकेको नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए ।उपलब्ध तथ्यांकअनुसार गत वर्ष जुन मध्यदेखि नोभेम्बर मध्यसम्म करिब १४७ गिगावाट–आवर विद्युत् बंगलादेश निर्यात गरिएको थियो । सम्झौताअनुसार बिक्रीदर प्रतियुनिट ६.४० अमेरिकी सेन्ट छ ।

नेपालले गत वर्ष पाँच महिनाको अवधिमा ९.४३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो । यस वर्ष डलरको मूल्य बढेका कारण आम्दानीमा थोरै बढोत्तरी हुने प्राधिकरणले जनाएको छ ।

आइतबारको डलर विनिमयदर १५२ अनुसार, उक्त रकम करिब एक अर्ब ४३ करोड ४३ लाख बराबर हुन आउँछ । यद्यपि, यसमा प्रसारण लाइन चुहावट लागु हुनेछ ।भारतीय बजारमा मात्रै एक हजार १२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । २०७८ कात्तिक १६ गतेदेखि भारतमा औपचारिक रूपमा विद्युत् बिक्री सुरु गरेको थियो ।

सुरुमा केवल ३९ मेगावाट बिक्री अनुमति पाएको नेपालले हाल भारत र बंगलादेशका लागि गरी कुल एक हजार १६५ मेगावाट विद्युत् बिक्री स्वीकृति प्राप्त गरिसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्मको नौ महिनामा भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर २० अर्ब ४१ करोड ५६ लाख आम्दानी भएको छ । उक्त अवधिमा भारतबाट विद्युत् खरिदमा सात अर्ब ३९ करोड खर्च भएको छ ।

साउनदेखि मंसिरसम्मको पाँच महिनामा मात्रै नेपालले कुल दुई हजार ७१४ गिगावाट–आवर विद्युत् निर्यात गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको उक्त अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँबराबरको विद्युत् निर्यात भएको थियो ।

हाल नेपालको जडित विद्युत् जडित उत्पादन क्षमता करिब चार हजार ३०० मेगावाट पुगेको छ । सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । यदि उक्त लक्ष्य प्राप्त भएमा आगामी आर्थिक वर्षमा पाँच हजार पाँच सय मेगावाट माथि पुग्नेछ ।

आइतबारको प्रणाली तथ्यांकअनुसार नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी तथा निजी क्षेत्रबाट गरी करिब २५ सय मेगावाटको हाराहारीमा उत्पादन रहेको प्राधिकरणले जनाएको छ ।

आइतबारको दिन नेपालको कुल ऊर्जा माग ६० हजार ४२८ मेगावाट–आवर थियो । यस्तै, आन्तरिक खपत ४३ हजार ५०२ मेगावाट–आवर रहेको थियो । उच्च मागको समयमा आन्तरिक माग दुई हजार १७६ मेगावाट मात्र रहेकाले बाँकी विद्युत् भारततर्फ निर्यात गरिएको थियो । उक्त दिन नेपालले भारततर्फ ५३६ मेगावाटसम्म विद्युत् निर्यात गरेको तथ्यांकले देखाउँछ ।

यसबीच, बंगलादेशले माग गरेको थप २० मेगावाट विद्युत् यस वर्ष निर्यात हुन नसके पनि आवश्यक स्वीकृति पाएपछि ६० मेगावाट निर्यात हुनेछ ।हाल ४० मेगावाट निर्यातबाट मात्रै पाँच महिनामा करिब एक अर्ब ४३ करोड आम्दानी हुने अवस्था रहेकाले विद्युत् व्यापार नेपालका लागि विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण स्रोत हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय