बीरगन्ज, ३१ भदाै । बुधबार बीरगन्ज बसपार्कमा पछिल्ला समयहरुभन्दा चहलपहल बढि देख्न पाईयो । बुधबार बिहानै देखि बसपार्कमा झण्डै ६ महिनादेखि थन्किएका सवारीहरुको सरसफाइ भईरहेको देखियो । असोज १ गते विश्वकर्मा पुजासँगै लामो दुरीका सवारी सञ्चालन गर्न दिने सरकारको निर्णयसँगै बीरगन्जका यातायात व्यवसायीहरु तयारीमा जुटेका हुन् ।
चैत १० गतेबाट ग्यारेजमा थन्किएका सवारीहरु सडक गुड्ने भएपछि यातायात व्यवसायी हर्षित देखिन्छन् । चैत १० गतेबाट ग्यारेजमा थन्किएका सवारीहरु मध्ये अधिकांशमा समस्या आएको यातायात व्यवसायीहरुको भनाई छ । झण्डै ६ महिना ग्यारेजमा थन्किएको एउटा सवारीलाई मर्मत गरि सञ्चालन गर्न औसतमा पनि १ लाख ५० हजार देखि २ लाख सम्म लाग्ने बसपार्कमा आफ्नो सवारी मर्मत गराईरहेका व्यवसायी दिपेन्द्र दासले बताए ।
“६ महिना भयो, ईन्जिन स्टार्ट भएको छैन । मोबिल जमिसक्यो, पाईपहरुले एयर लिसके, मुसाहरुले कतिठाउँमा वायरिंग काटे, टायरमा हावा सकिसक्यो”, दास भन्छन्, “औसतमा पनि १ लाख ५० हजार लगाए ठीक हुन्छ ।”
यातायात व्यवसायी दासका अनुसार विश्वकर्मा पुजा पछि अवस्था हेरेर मात्र सवारी सञ्चालन गरिनेछ ।
सरकारको निर्णय जतिबेला पनि फेरिन सक्ने भएका कारण उनी अरुले सवारी सञ्चालन गरेमात्र आफुले पनि गर्ने विचारमा छन् । बीरगन्ज बसपार्कमा हाल सवारी मर्मत गर्नेहरुको भ्याईनभ्याई छ ।
व्यवसायीले सरकारी मापदण्ड पालना गर्नेमा शंका
सरकारको निर्णयसँगै असोज १ गतेबाट लामोदुरीका यातायात सञ्चालन हुन लागेका छन् । झण्डै ६ महिना पछि लामो दुरीका यातायात र आन्तरिक उडान खोल्ने सरकारी निर्णयसँगै व्यवसायीहरु तयारीमा जुटेका छन् । हवाई सेवा प्रदायक कम्पनी तथा यातायात व्यवसायी झण्डै ६ महिनापछि व्यवसाय सञ्चालन गर्न पाउँदा उत्साहित नहुने कुरा नै भएन ।
तर, संक्रमणले दिनदिनै नयाँ उचाई लिईरहेका बेला यातायात खोल्ने निर्णय संक्रमण बढ्ने कारक तत्व हुन सक्ने देखिन्छ । लामो दुरीका बस चैत १० यता चलेका छैनन् । लकडाउनको अघिल्लो दिनदेखि नै सरकारले सञ्चालनमा रोक लगाएका कारण बसहरु ग्यारेज मै थन्किएका हुन् । सरकारको पछिल्लो निर्णयपछि व्यवसायीहरु बस सञ्चालनको निर्णयमा पुगेका छन् ।
सरकारले अघि सारेको स्वास्थ्य मापदण्ड पालना गर्दै सुरुमा सिमित यातायात सञ्चालन गर्ने र, त्यसपछि यात्रुको चाप अनुसार सवारी संख्या थप्दै जाने तयारीमा यातायात व्यवसायी छन् । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ भने व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्नेछन् जस्ता शर्तहरु पालना गराउँदै यातायात व्यवस्था विभागले अघि सारेको भएपनि झण्डै ६ महिनादेखि ग्यारेजमा गाडी थन्काएका व्यवसायीले नियम पालना गर्नेमा शंका छ ।
झन् दशैँ, तिहारका बेला खाँदेर यात्रु चढाउने व्यवसायीहरुले सरकारका नियमहरु पालना गर्दै सवारी सञ्चालन गर्छन् भन्ने आधार छैन । त्यसमाथि बाट सवारी चढ्न भिड गर्ने यात्रुहरुका कारण पनि यी नियमहरु पालना हुने भन्न सकिन्न ।
हेर्नु बीरगन्ज बसपार्कका तस्बिर :






