चैत ५ गते अघि र त्यसपछिको स्थितिको कुरा गर्ने हो भने ठ्याक्कै यस्तै छ– पहिले भ्याई नभ्याई, अहिले केही न केही । चैत ५ गतेपछि सरकारले कोरोना फैलन सक्ने भन्दै विद्यालयहरु बन्द गरेपछि म र म जस्ता शिक्षकको हाल यस्तै छ । कोरोना कारण विद्यालय बन्द भएपछि ६ महिना नै भयो, घरमा बसेर दिन काट्नु बाहेक अरु केही छैन ।
चैत ५ गते अघिको समयलाई सम्झन्छु, म । बिहान ५ बजेदेखि शुरु हुने मेरो दैनिकीले राति १० बजेमात्र विश्राम लिन्थ्यो । बिहान ५ बजे उठेर नित्यकर्म गरेर बिहान साढे ६ बजेपछि कर्मथलो विद्यालय पुगेपछि मेरो दिनचर्या शुरु हुन्थ्यो । बिहान डेढ/दुई घण्टा विद्यार्थीहरुको अतिरिक्त कक्षा लिएपछि ९ बजे शुरु हुन्थ्यो, मुख्यकर्म अर्थात विद्यालयमा व्यवस्थापन गर्ने काम तथा पढाउने काम । विद्यालयमा सहायक प्रधानाध्यापक रुपमा जिम्मेवारी लिएर काम गरिरहेको कक्षा ९ र १० मा दैनिक ६ घण्टी गणित विषय पनि पढाउने गरेको छु । साथै, अभिभावकको गुनासो, शिक्षक शिक्षिकाको समस्याको सहजीकरण र विद्यार्थीको बोलीलाई पनि सुन्दै विद्यालयमा व्यस्थापन गर्नु मेरो दैनिकी नै थियो । “मेरो छोरोले घरमा पढेन, भनेको मानेन, खाएन, अनुशासनमा बस्दैन” जस्ता अभिभावकको गुनासोमा मेरो काम अभिभावक र विद्यार्थी बीचमा सहजीकरण गरिदिनु पर्ने हुन्थ्यो । अर्थात विद्यार्थीलाई सुझाव, सल्लाह दिदैं अभिभावकको गुनासोलाई न्युन गर्न हर सम्भव प्रयास गरिरहेको हुन्थिए, म । साथै, दैनिक शिक्षण सिकाई क्रियाकलाप गरिरहँदा शिक्षकवर्गहरुले औंल्याएका समस्या र भएका कमीकमजोरीलाई हल गर्दै विद्यालय समय बितेको पत्तै हुदैनथ्यो । अनि, विद्यार्थीहरुको समस्या र गुनासोलाई सुन्दै काम गरिरहँदा जिम्मेवारीको बोझ, बोझ नभएर अनुभवको चाङ बढेजस्तो हुन्थ्यो, जसबाट हरेक दिन केही न केही नयाँ कुरा सिकिरहेको हुन्थे, म ।
यति मात्र होइन, स्थापन भएको १० वर्ष मै सफलता चुमेको मेरो विद्यालयको इज्जत, प्रतिष्ठा र उचाईलाई पनि डगमगाउन नदिनु पनि उत्तिकै आवश्यक थियो । किनभने १० वर्षको अवधिमा नै अनुशासनसहित गुणस्तरीय शिक्षाको कारणले गर्दा सयौं अभिभावकको मन जित्न हामी सफल भइसकेका थियौं । यस कुरालाई निरन्तरता दिनका लागि पनि दिनुहँ विद्यालयमा सहकर्मीहरुसँग छलफलमा बित्ने गरेको हुन्थ्यो, दिन । अनि विद्यार्थीहरुलाई हरेक अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले उत्तिकै महत्वका साथ सहभागी गराउने गरेको हुदाँ, त्यसको नेतृत्व गरी विद्यार्थी र शिक्षकवर्ग बीच समन्वय पनि मेरो दैनिकीको अर्को पाटो थियो । यिनै सबै क्रियाकलापका बीच बिहान ९ बजे शुरु भएको विद्यालय समय कति चाडैं ३ बजेर सकिन्थ्यो, पत्तै हुदैंनथ्यो । ३ बजेपछि केही बेर विश्राम गरेर पाँच बजेसम्म फेरि अतिरिक्त कक्षाहरुमा मैले समय दिने गर्थे ।
यसका अलावा, मेरो दैनिकीको अर्को पाटो पत्रकारिता कर्म पनि थियो । २०६६ सालबाट शुरु मेरो पत्रकारिता कर्म रेडियोबाट शुरु भएको थियो । विभिन्न रेडियोमा काम गरेको मैले एक वर्षजति छापा पत्रकारितामा पनि अनुभव हाँसिल गर्ने मौका पाए । केही महिनादेखि भने म यस कर्मबाट विश्राम लिएर बसेको थिए । तर मेरा पूराना सहकर्मीहरुले नै सन्चालन गरेका एउटा अनलाइन र छापा पत्रिकामा फेरि सहकार्य गर्न अनुरोध आएपछि, गत वर्ष फागुनदेखि साँझ त्यतातिर समय दिदैं थिए । विद्यालयबाट घर पुगेर एकैदिन विश्राम गरेर पत्रिकाको कार्यालय पुगेको म, राति ९ बजेतिर मात्र घर फर्किन्थे ।
अनि, एकैदिन छोरासँग खेल्दै, उसको कुरो सुन्दै सुतेपछि मेरो दैनिकीले विश्राम लिन्थ्यो । त्यसबेला भन्नु पर्दा, मेरो परिवार र अझ छोराको लागि त समय नै दिन पाउदिन थिए । यस्तै थियो, चैत ५ गते अघिको मेरो समय, भ्याई नभ्याई हुन्थ्यो ।
तर अहिले मेरा समय यसको ठीक विपरित छ । पहिले काम गर्न भ्याई नभ्याई हुने म अहिले काम बिहीन जस्तै छु । चैत ५ देखि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भए पश्चात्, कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्यो । विद्यालय त पूर्ण रुपमा बन्द नै भएको थियो, तथापि साँझको समयमा पत्रिकामा गएपछि केही भए पनि समय त्यतातिर बित्थ्यो मेरो, चैत ५ पछिका दिनहरुमा । बाँकी बिहान र दिउँसोको समय आमा, श्रीमती र छोरासँग घरमा । पहिले छोरालाई समय दिन नपाएको मसँग चैत ५ यता भने मनग्गे समय थियो, यथेष्ट समय छोरालाई दिन पाए मैले । उसका कुरा सुन्ने, उसका प्रश्नको जवाफ दिने, केही पढ्न सिकाउने, अक्षर लेखनमा अलि कमजोर छोरालाई राम्रा अक्षर लेख्न सक्ने बनाउन भ्याए मैले, यो बेला ।
सरकारले चैत ११ देखि लकडाउनको घोषणा गरेपनि पर्साको बीरगन्जमा कोरोनालाई शुरुमा कसैले पनि सिरियस रुपमा लिएका थिएनन् । तर जब चैत ३१ गते बीरगन्जको छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीयमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएपछि बीरगन्जवासीमा त्रास छायो । लकडाउन भएपनि सवारीसाधन र शैक्षिक संस्था मात्र बन्द भएको थियो बीरगन्जमा । तीन जनामा कोरोनाको संक्रमण देखिएपछि त, सडकमा चरोमुसो पनि देखिन छोड्यो । सन्नाटा नै छाएको थियो, त्यसबेला । मैले बीरगन्जबाटै शुरु भएको ६ महिना लामो मधेश आन्दोलनको देखें । बरु, त्यसबेला बन्द र कफ्र्युको अवज्ञा गर्दै मान्छे बाहिर निस्कन्थे, शैक्षिक संस्था तथा सवारीसाधन बन्द भएपनि मानिसको दैनिकीमा त्यति धेरै असर परेको थिएन । कफ्र्यु लागेको भएपनि, त्यो बेला मानिसमा डर र त्रास थिएन । तर चैत ३० गतेपछि त, मानिसमा चौगुना डर र त्रास देखियो, कोरोनाको । यो बेला चाहिं सरकारको लकडाउनको पालना मानिसले स्वतस्फुर्त रुपमा गरेका थिए । सुरक्षाकर्मीलाई पनि लकडाउन पालना गराउन टाउको दुखाउनु परेको थिएन ।
चैत ३० अघि कार्यालयमै पुगेर पत्रिकाको कार्यसम्पादन गर्ने गरेको हामीले त्यस यता भने घरबाटै काम गर्न थाल्यौं । फोनमा विभिन्न जानकारी लिने, सहकर्मीहरुसँग अनलाइनमै सहजीकरण गर्दै काम गर्ने गर्यौं । त्यसबीच, स्थिति केही सहज भयो । अनि फेरि मलाई स्थानीय एउटा रेडियोबाट अफर आयो । २०६६ सालबाट रेडियो पत्रकारिता शुरु गरेको मैले फेरि रेडियोमै जोडिने मौका पाए । पूर्वसहकर्मीहरुनै रहेको गत फागुनबाट सन्चालित सो रेडियोमा समाचार वाचक र कार्यक्रम प्रस्तोताको जिम्मेवारी रहेर काम गर्न अफर आयो । यसै पनि केही काम थिएन, विद्यालय कहिले खुल्ने हो ठेगान थिए, मैले सहजै स्वीकारे अफर र वैशाख १७ गतेबाट फेरि रेडियोमा मेरो आवाज बज्न थाल्यो ।
अनलाईन, पत्रिका र रेडियोमा कार्यालयमा पुगेर काम गर्दै गर्दा बीरगन्जमा संक्रमण बढिरहेको थियो । संक्रमितहरु थपिदैं थिए । त्यसबीचमा प्रहरीले एक जना सहकर्मी पत्रकारलाई दुर्व्यवहार गरेपछि नेपाल पत्रकार महासंघको अगुवाईमा प्रहरी विरुद्ध आन्दोलन शुरु भयो । रेडियोका सहकर्मीसहित बीरगन्जको घण्टाघरमा दुई दिन आन्दोलनमा पुगेको थिए । दोस्रो दिन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो । आवातजावत गर्न गाह्रो भएकाले प्रेस पास लिने भन्दै सहकर्मीहरुसहित सिडियो अफिस गयौं । ज्ञापन पत्र बुझाएपछि प्रेस पास लिने प्रक्रियाबारे बुझेर हामी पत्रिकाको अफिस फर्केर कम्प्युटर खोलेर फेसबुक हेरेको त, आन्दोलनमा सहभागी भएका दुई पत्रकारसहित ३९ जनामा संक्रमण पुष्टि भएको समाचार पढियो । यो बैशाख ३० गते घटना हो । त्यसपछि, सबैलाई भयो तनाव । कोही कार्यालयमै बसे । कोही होटेलमा आइसोलेट भए । हामी पनि साँझसम्म कार्यालयमा बस्यौं । अनि, घरमै होम आइसोलेसनमा बस्ने निर्णय गरेर घर फर्कियौं किनभने आन्दोलन दुई दिन आन्दोलनमा सहभागी भए पश्चात घरमा आउजाउ गरिसकेका थियौं । केही दिन घरमै होम आइसोलेसनमा बसेपछि पिसिआर टेष्ट गरेपछि नेगेटिभ रिपोट आयो । अनि बल्ल, तनाव कम भयो । त्यो बीचमा रेडियोमा सबै कार्यक्रम बन्द थियो भने अनलाइनमा भने घरबाटै काम गरिरहेको थिए ।
अचेल यसरी नै बित्दैछ, दैनिकी । पछिल्लोपटक रेडियोका तीन जना सहकर्मी पोजेटिभ भएपछि घरबाटै रेडियोको कार्यक्रम चलाए । हाल अनलाईनको काम पनि घरबाटै गर्छु । रेडियोको कामका लागि भने अहिले कार्यालय नै पुग्ने गरेको छु । असारतिर होला, अवस्था केही सामान्य बने पश्चात, सबै शिक्षकवर्गलाई बोलाएर गत वर्षको अन्तिम परिक्षाको परिक्षाफल तयार पार्यौं र प्रकाशन पनि गर्यौं । अनि कक्षा ९ र १० को अनलाइन कक्षा पनि शुरु गर्यौं तर समस्या धेरै छन् । सबै अभिभावक र विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । कक्षामा जम्मा २० देखि ३० प्रतिशत विद्यार्थीको मात्र सहभागित थियो र त्यो पनि घट्दो क्रममा थियो । सोही बीच, सरकार र विद्यालय सन्चालकहरुबीच कोरोनाको कारणले निम्तिएको शुल्क समस्या लगायत अन्य विषयमा कुरा नमिलेपछि अनलाईन कक्षा बन्द गर्ने कुरा आयो । कहिले अनलाइन कक्षा चलाउने त, कहिले बन्द गर्ने भन्ने अन्यौलका बीच अन्नतः अनलाईन कक्षा बन्द भयो । अनि, झन् साउन शुरु भए यता पर्सामा संक्रमितहरु फेरि ह्वात्तै बढे । त्यसपछि, फेरि सबैको घर बास भो ।
चैतदेखि भदौसम्म यसरी नै बित्यो, समय । छ महिना भयो, मेरो विद्यालयमा शिक्षकहरुले चैतसम्मको तलब पाएका छन् । पाँच महिनादेखि शिक्षकहरु तलब बिहीन छन् । अनलाईन र रेडियोमा काम गरिरहेको मैले त्यहाँबाट पाँच दश हजार पाउनु बाहेक मेरो आम्दानीको नाममा एक सुक्को छैन । मेरो त यस्तो स्थिति छ, अन्य शिक्षकहरुको स्थिति त झन् कहालीलाग्दो छ, म सहजै अनुमान गर्न सक्छु । म त जसैतसै घरबार चलाईरहेको छु, मसँगै काम गर्ने करिब ८० देखि ९० जना शिक्षक कर्मचारीको दैनिकी कसरी चलिरहेको होला, सम्झिदाँ मन पिरोलिन्छ । विद्यालयको तर्फबाट आवश्यकताको आधारमा दुई चार हजार नदिइएको होइन तर त्यो दुई चार हजारले कति दिन धान्छ र ?
विद्यालय पढ्दा देखि नै एक जना गणित शिक्षकले मलाई निकै नै प्रभावित बनाउनु भएको थियो । त्यसैले, सोही बेलादेखि नै पछि गएर शिक्षक नै बन्ने निर्णय मेरो थियो । त्यसमाथि झन्, मेरो काका पनि पहिलेदेखि यस क्षेत्रमा हुनुहन्थ्यो । काकाले चलाउनु भएको निजी विद्यालयबाट नै मैले २०६० सालबाट पढाउन शुरु गरेको थिए । त्यसपश्चात अर्को एक विद्यालयमा पनि राम्रो अनुभव बटुले । त्यस यता, २०६६ सालबाट अहिलेको विद्यालयमा निरन्तर काम गरिरहेको छु । पहिले देखिकै सोच, सोही अनुसार कर्मलाई नै मुख्य केन्द्र बनाएर अघि बढेको मलाई, व्यक्तिरुपमा पनि सफलता प्राप्त नै थियो । अहिलेको विद्यालयबाट नै म बीरगन्जमा यस क्षेत्रमा स्थापित नै भइसकेको थिए भन्दा, फरक नपर्ला । यसअघि पनि मधेश आन्दोलनको क्रममा निरन्तर विद्यालयहरु बन्द भए, छ महिनासम्म पनि विद्यालय बन्द भयो । तर कोरोनाको कारण अहिले विद्यालय बन्द भएपछि जस्तो असर हामी सबैमा परेको छ, त्यस्तो असर परेको थिएन । मैले लगभग निजी विद्यालयको शिक्षक पेशामा १७ वर्ष बिताईसकेको छु । १७ वर्षको यो समयमा म कहिले पनि बिचलित भइन् । परिश्रममा विश्वास गर्ने मैले राम्रो नाम र दाम कमाउदैं थिए । सँगै पढ्ने साथीहरु कोही सरकारी कर्मचारी, शिक्षक र अन्य पेशा र क्षेत्रमा छन् । मलाई पनि लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न अग्रज र साथीहरुले नसुझाएका होइनन् । तर किन हो किन, म अहिले कै क्षेत्रमा भिज्न थाले, अन्य कुराको सोच आएन ।
तर पाँच महिनादेखि कामबिहीन र तलबबिहीन भएर बस्नु पर्दा मन विरक्तिको छ । सम्झन्छु, पहिले पहिले छोरीको बिहे गर्दा सरकारी जागिर भएको केटा किन खोज्थे भनेको, अहिले महशुस भइरहेको छ । यो क्षेत्रमा लागेर पछुतो लागेको छ भनेको होइन, मन विरक्तिएपछि धेरै कुराको सोच आउदो रहेछ, त्यही भएको हो । तर हुन पनि त हो नि, अहिले निजी विद्यालयमा काम गर्ने शिक्षक, कर्मचारी लगायतकाले नै मात्र त तलब भत्ता पाएका छैन । सरकारी पियनदेखि प्रधानमन्त्रीसम्मले तलब पाएका छन् । कति ढुक्क छ, उनीहरुलाई, जतिसुकै लामो लकडाउन वा निषेधाज्ञा नै किन नहोस् ।
पछिल्लोपटक, सरकारले वैकल्पिक शिक्षक सिकाईलाई मान्यता दिने भनेपछि, मेरो विद्यालयमा पनि प्रयास भइरहेको छ । अनलाईन कक्षा हुदैंछ । विविध समस्या छन्, तथापि शिक्षकवर्गको प्रयास जारी छ । यसले पाठ्यक्रम अघि बढ्ने र शैक्षिक सत्र पूरा हुने कुरामा म विश्वस्त छैन । किनभने, सरकारले काठमाडौंलाई हेरेर निर्णय गरेको छ । मोफसलका अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयको समस्या के हो, काठमाडौंले बुझेकै छैन । सरकारले त मात्र आफ्नो टाउको बोझ हटाएको छ । अनलाईन चलाएर शुल्क लिने पाउने भनेर सरकारले निजी विद्यालय, शिक्षक, विद्यार्थीलाई अल्मल्याएको मात्र छ । अनलाईन कक्षा गरेर शुल्क उठाउन पाउने भएपछि विद्यालय र अभिभावकलाई एक आपसमा भिडाउने मात्र काम गरेको छ । यस्तै गर्दागर्दै दशैं, तिहार, छठ आउँछ । सबै जनाको ध्यान पर्वतिर जान्छ । दुई अढाई महिनालाई सरकारलाई टाउको दुखाई त कम भयो नि । बस, सरकारको यही ध्येय हो जस्तो लाग्छ ।
अनि, दैनिक कमाएर खाने अभिभावकलाई छाक टार्न नै समस्या परेको बेला, कहाँबाट जोहो गरुन्, वैकल्पिक शिक्षण सिकाईका सामाग्री । विद्यालयहरुले पनि अनलाईन कक्षा चलाउँला, अनि अभिभावकसँग पैसा उठाएर शिक्षकलाई तलब दिउँला भने अनलाइन कक्षा चलाईरहेका छन् । सन्चालकहरु पकेटबाट पैसा निकालेर तलब खुवाउने होइन, अभिभावकले दिन्छन् अनि शिक्षकलाई तलब दिउँला भन्ने सोचमा छन् । तर अहिलेको अवस्थामा मोफसलमा अनलाईन कक्षाबाट पढाई न प्रभावकारी हुन सक्छ, न त अभिभावकले अहिले विद्यालयको शुल्क तिर्न सक्छन् । मासिक रुपमा तलब बुझिरहेका अभिभावक पनि तिर्ने मनस्थितिमा छैनन् । कारण, यो कोरानाको महामारी कहिलेसम्म लम्बिने हो ठेगान छैन अनि अर्को कुरा कति महिनाको मासिक शुल्कमा छुट हुने हो भनेर पर्ख र हेरको मनस्थितिमा छन्, अभिभावक ।
अझ, सरकारले असोज १ गतेबाट लामोदुरीका यातायात, हवाई उडामा र होटल तथा रेष्टुरेन्ट पनि खोल्न दिने भनेको छ । शिक्षण संस्था भने कहिलेबाट खुल्ने हुन्, अझै अत्तोपत्तो छैन । यसरी हामी कसरी बाँच्ने, परिवार कसरी चलाउने । पाँच/पाँच महिनादेखि तलब विहीन भएर बसेका म जस्ता शिक्षकहरुको समस्याप्रति कसैलाई वास्ता छैन । सामान्य समयमा मासिक कमाएको पैसा बैंकको साँवा र व्याज तिर्दै ठिक्क भो, अलिकति बचाएको राखेको बचत ६ महिनादेखि खाएर सक्किन लाग्यो । अब के गर्ने, कसो गर्ने । के गरेर खाने । कसरी बैंकको कर्जा तिर्ने । तनाव छ । तर न सरकारलाई वास्ता छ, न सन्चालक केही बोल्छन् । मन, त्यसै विरक्तिएको हो र ?
अशोक संग्रौला

