फाँसीवादी वर्तमान सरकारलाई प्रतिपक्षले भन्दा पनि मिडियाले खबरदारी गरिरहेको छ-भट्टराई

spot_img

बीरगन्ज, २७ असोज -जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फाँसीवादतर्फ उन्मुख केपी ओली नेतृत्वको वर्तमान सरकारलाई प्रतिपक्षले भन्दा पनि मिडियाले खबरदारी गरिरहेको जिकिर गर्नु भएको छ । पिसी मिडिया नेटवर्कद्धारा सन्चालित रेडियो सान्भी ९६.४ मेगाहर्ज र साझा डेली डट कमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेता भट्टराईले पछिल्लो समय लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउनका निमित्त मिडियाले ठूलो भुमिका खेलेको बताए । विगत दुई दशकयता भएको डिजिटल क्रान्तिले मिडिया व्यक्तिको घर घरमा, पकेट पकेटमा पुगेको भट्राईले बताए । उनले कोभिड महामारीले अर्थतन्त्र तहसनहस भएको बेला फाँसीवादतर्फ उन्मुख भई निदाइरहेको वर्तमान शासकहरुलाई खबरदारी गर्न राजनैतिक दलले भन्दा पनि मिडियाले ठूलो भुमिका खेलिरहेको बताए । आफ्नो पार्टीको तर्फबाट आत्मालोचना गर्दै डा. भट्टराईले वर्तमान निकम्मा सरकारलाई झक्झक्याउनका निमित्त राजनीतिक दलहरुले जुन भुमिका खेल्नु पथ्र्यो त्यसमा चुकेको स्वीकार गरे । उनले भने “हाम्रो पार्टी भर्खरै एकीकरण भई समायोजनको प्रक्रियामा छ, यसको छुट हामीलाई छ तर स्थापित भनिएको प्रतिपक्ष दलले समेत सरकारको निकम्मापनलाई उजागार गरिरहेको छैन, यस्तो अवस्थामा मिडियाले अग्रगामी भुमिका खेलेको छ, यो यर्थाथ हो । ”

एक अर्को प्रसगंमा पूर्व प्रधानमन्त्री डा. भट्टराईले मिडिया स्वतन्त्र होस् भन्ने आफुले चाहेको बताए । तर मिडियाको व्यवस्थापनको पाटो स्वतन्त्र हुन सकेन भने मिडिया स्वतन्त्र हुन नसक्ने जिकिर गरे । “कर्पोरेट लगानीमा स्थापित मिडिया आर्थिक रुपमा जबसम्म पूर्ण स्वायत्त हुदैंन, तबसम्म मिडिया स्वतन्त्र हुन सक्दैन” उनले भने । पिसि मिडिया नेटवर्कले यसको शुरुवात गरोस् भन्दै उनले भोलिका दिन आर्थिक राजधानीको रुपमा बीरगन्ज हुन सक्ने भन्दै यो मिडियाले राष्ट्रिय स्तरको भुमिका खेल्ने गरी अघि बढ्नुपर्ने शुभकामना दिए ।

यस्तै, जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मिडियालाई लोकतन्त्रको मापन गर्ने थर्मोमिटरको संज्ञा दिएका छन् । उनले भने “मिडिया भनेको थर्मोमिटर जस्तै हो, कुन मुलुकमा कति नागरिकले कति स्वतन्त्रता पाएका छन् ? लोकतन्त्रको अवस्था के छ, त्यो नाप्ने माध्यम भनेको मिडिया हो ।” त्यसकारण, कुनै पनि देशमा प्रेस स्वतन्त्रता छ भने लोकतन्त्र पनि स्थापित रहेको मान्न सकिने पूर्व उप प्रधानमन्त्री यादवको जिकिर छ । मिडियाले सबै आन्दोलनमा अहम भुमिका खेलेको भन्दै नेता यादवले न्यायका लागि समानता स्थापित गर्न मिडिया अझै प्रभावकारी रुपमा अघि बढ्नु पर्ने सुझाव दिए । अहिले आएर मिडियामा सामाजिक क्रान्ति नै आएको भन्दै उनले भने “जसले गर्दा करिब करिब सबै मान्छे पत्रकार भएका छन्, जुन राम्रो कुरा हो ।” रेडियो सान्भी र साझा डेलीलाई नयाँ पन दिन सकोस् भन्दै जनताको लोकप्रियता बटुल्दै फरक अमिट छाप छोड्न सकोस् भन्ने शुभकामना नेता यादवले दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पत्रकारको मिडिया ऐन बनाउँदा गाह्रो भएको अनुभव सुनाए । कार्यक्रममा यस सम्बन्धमा उठेका प्रश्नको जवाफ दिर्दै मुख्यमन्त्री राउतले आफ्नो यस्तो चाहना नहुँदा नहुँदै विभिन्न कारणले गर्दा मिडिया ऐन ल्याउन बाध्य भएको दाबी गरे । उनले भने “मिडिया ऐन ल्याउँदा पत्रकारका प्रतिनिधिसँग छलफल नगरेको होइन तर के नमिलेको नमिलेको जस्तो भयो तर पत्रकारको भावनालाई कुठराघात गर्ने प्रदेश सरकारले मनसाय होइन ।” मिडिया ऐनमा पत्रकारहरुको केही चाहना नभएका होलान्, त्यसका लागि आवश्यकता र औचित्यका आधारमा ऐन संशोधन गरिने प्रतिबद्धता मुख्यमन्त्री राउतले जाहिर गरे । मिडिया ऐन दशैं अघि नै संशोधन गर्ने प्रयास भइरहको उनले बताए । उनले आगामी दिनमा जनताको माझमा गएर रेडियो र अनलाईनले सत्य तथ्य सूचना सम्प्रेषण गरी प्रभाव स्थापित गर्न सकोस् भन्ने शुभकामना पनि दिए ।

यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले बलिदानीबाट स्थापित प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने गरी कानुन ल्याएको आरोप लगाएका थिए । उनले प्रदेश सरकारलाई प्रेस मैत्री हुन सुझाव दिए । प्रदेश सरकार पत्रकारप्रति किन पूर्वाग्रही भइरहेको छ ? विरक्तिभाव किन प्रकट गरिरहेको छ ? आफुले बुझ्न नसकेको उपाध्यक्ष लामिछानेले भने ।

रेडियो सान्भीका महाप्रबन्धक नवराय फुँयालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जसपाका नेता राजेन्द्र श्रेष्ठ, संघीय सांसदद्धय प्रदीप यादव र हरिनारायण रौनियार, प्रदेश सांसदहरु करिमा बेगम, सिंहासन साह कलवार, भिमा यादव र मन्जुर आलम, जसपा नेताहरु नेजामुद्दिन समानी, रामनरेश यादव, सन्चारकर्मी, चिकित्सक, श्रोता, नागरिक समाजका विभिन्न क्षेत्रका व्यक्तित्वको पनि उपस्थिति रहेको थियो ।

उद्घाटनमा रेडियाका कार्यक्रम संयोजक हेमन्त तामाङले सहजीकरण गरेका थिए भने अशोक संग्रौलाले स्वागत मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय