जनकपुरधाम, मंसिर ३ । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ। तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ।
छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था र पूजा व्यवस्थापन समितिहरु जुटेका छन्।
छठ पर्वको प्रमुख स्थलमध्येको एक मानिने जनकपुधामस्थित गँगासागर,धनुषसागर,अंगराजसर,बिहारकुण्ड,अग्निकुण्ड, भैया पोखरी, महन्थ पोखरी, लगायतका जलाशयहरुमा सरसफाई तथा घाट निर्माण कार्य गरिएको छ। यस वर्ष आजबाट छठ पर्वको बिधि शुभारम्भ नहायखाय, बिहिबार खरना, शुक्रबार सन्ध्या अर्घ्या र शनिबार छठको पारणा भई बिधिवत रुपमा बिसर्जन हुने धार्मिक कार्यक्रम रहेको छ।
जनकपुरका बजारहरुमा विशेष रूपमा माटो र बाँसको चोयाले बनेका पूजा सामग्री खरिद–बिक्री बढेको छ। त्यससँगै झुप्पावाला केरा, फलफूल किन्न बजारमा भिडभाड देखिएको छ।
माटोका घैला, हात्ती, दिया, ढकना र बाँसको चोयाले बनेका ढकिया, सुपा, कोनिया, डगरी, झुप्पावाला केरा, नविरल, पातसहितको उखुको खरिद–बिक्री बढेको हो।

आजदेखि सुरु भएको छठपर्वको दोस्रो दिन भोलि खरना रहेको छ । दिनभरि व्रत बसेका ब्रतालुहरू खरनामा विशेष प्रकारको खिर बनाउने गर्छन् । खिर प्रसादका रूपमा ग्रहण गरेपछि ब्रतालुहरूको निराहार ब्रत सुरु हुन्छ । अगामी शुक्रबार अस्ताउँदो सूर्यलाई र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।







