कैलाली, २२ फागुन । शनिबार दिउँसो कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेड अन्तर्गतको फर्निचर उद्योगमा आगलागी भएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाको दमकल, गोदावारी नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत स्थानीयको पहलमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
२ घण्टा अघिदेखि भएको आगलागीका कारण फर्निचर उद्योगमा करोडौंको क्षति भएको छ । आगलागी भएको फर्निचर उद्योग नजिकै नेपाल आयल निगमको डिपो रहेको कारण आगलागी फैलिएको भए भयावय अवस्था आउने थियो ।
धनगढी उपमहानगरपालिकाको एउटा दमकल पनि आगलागी सुरु भएको आधा घण्टा पछि मात्र घटनास्थलमा पुगेको थियो । आगलागीको लामो समय पछि गोदावारी नगरपालिकाको दमकल पुगेको थियो ।
धनगढी उपमहानगरपालिकाको दमकल पनि पानी नभरी पुगेको भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन् । दमकल पानी लिएर समयमा नै पुगेको भए फर्निचर उद्योग ठूलो नोक्सानीबाट बच्न सक्ने स्थानीयबासीको भनाइ छ । आगलागी नियन्त्रणको प्रयास जारी छ ।




