बीरगन्ज,५ माघ – पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले बीरगन्जसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण हाल सम्म तीन जनाको मृत्यु भएको छ ।
त्यसैगरि, चिसो बढेपछि मधेश प्रदेश सरकारले गरिब विपन्नहरूलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहका अनुसार प्रदेश सरकारले पहिलो चरणमा दुई हजार १०० कम्बल वितरण भइसकेको छ भने दोस्रो चरणको लागि खरिद भइरहेको छ । त्यसैगरि बीरगन्ज लगायतका मुख्य शहरहरुको चौक चौकमा स्थानिय सरकार तथा प्रशासनले दउरा बितरण गर्नुको साथै आगो बालेको छ ।
केही दिनअघि मधेश प्रदेश सरकारले चिसो र कोरोना भाइरसको रोकथाक तथा औषधि उपचारमा सहज प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले पनि सबै सरोकारवाला निकायलाई निर्देशनसमेत दिएका थिए ।

