अलैची व्यवसायी महासंघ र बीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधीहरुबीच भेटघाट

spot_img

बीरगन्ज, २२ चैत । नेपाल अलैची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई नेतृत्वमा आएको ३ सदस्यीय टोलीले मंगलबार बीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्तासँग भेटघाट तथा छलफल गरेको छ ।

बीरगन्ज उद्योग वाणिज्य सङ्घको कार्यकक्षमा भएको छलफलका क्रममा अलैची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले सरकारले अलैची निर्यातमा दिदंै आएको ५ प्रतिशतको इन्सेन्टिभलाई बढाएर ८ प्रतिशत गरिनुपर्ने, अलैची प्रशोधनका साथै कृषिजन्य पैदावार चिया, अमलेशो, जडीबुटीका साथै तरकारी उद्योगलाई ५ वर्षसम्म पुरै कर छुट गरिनुपर्ने, कृषिजन्य उत्पादनलाई भिसिटिएसको प्रावधानभन्दा बाहिर राख्नु पर्ने र कृषि क्षेत्रको उन्नयनका लागि सरकार जति संवेदनशील हुनु पर्ने हो सो हुन नसकेको बताए ।

उनले भने “नेपालमै पहिलोपटक अलैचीबाट उत्पादित विभिन्न खाद्य परिकार र मसलाहरुको स्वेदशी बजार तथा भारत लगायत तेस्रो मुलुकमा निर्यातका लागि राज्यले आवश्यक सहजीकरण गरि यस्ता उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक छ । ”
सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले कृषि तथा कृषिजन्य उत्पादनको प्रबद्र्धन र बजारीकरणका साथै निर्यातका लागि राज्य सन्यत्रको सकारात्मक भूमिका हुनु पर्नेमा जोड दिँदै यस्ता खाले समस्या समाधानका लागि बीरगन्ज उद्योग वाणिज्य सङ्घले आफ्नै समस्याका रुपमा आत्मसात गरी समाधानका लागि राष्ट्रिय स्तरमा प्राथमिकताका साथ पहल गर्ने बताए ।

“हामी एक अर्काका समस्यालाई साझा समस्याका रुपमा लिई समाधानका निमित्त समेत साझा प्रयत्न गर्नु पर्ने सङ्घको संस्थागत धारणा रहिआएको छ । ”
अध्यक्ष गुप्ताले कृषिप्रधान देशमा कृषि क्षेत्रकै प्रबद्र्धन र विकास हुन नसेकेको दुखेसो व्यक्त गर्दै कृषिको व्यवसायीकरण र कृषकहरुको जीवनस्तर माथि उकास्न निजीक्षेत्रका सङ्घ संस्थाहरुको अहम् भूमिका हुने बताए ।

कार्यक्रममा अलैची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य संजीव घिमिरे सहितको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय