जनकपुरधाम, भदौ ११ । तराई-मधेश लोकतान्त्रिक पार्टीले महोत्तरी गा.पा. मा आसन्न निर्वाचनको सन्दर्भमा पार्टीको कार्यकर्ता भेला आयोजित गरेर छलफल गरेको छ ।

उक्त भेलालाई सम्वोधन गर्दै अध्यक्ष वृषेश चन्द्र लालले देशमा अहिले चलिरहेको गठबन्धनीय राजनीति निर्वाचनमा जेनतेन आफ्नो सीट सुरक्षित गर्ने र भोटको गणीतमा आधारित मात्र रहेको बताएका छन् ।
वहाँले वर्त्तमान गठबन्धन सिद्धान्त र कार्यक्रमको आधारमा भई नरहेको आरोप लगाउँदै नेका, माओवादी, जसपा, समाजवादी सबै पार्टीहरू आ-आफ्नो सिद्धान्तलाई तिलांजलि दिएको बताए ।
यी सबै एउटै ड्याङ्गका मूला हुन् भन्दै वहाँले यी सबमा कोही लोकतन्त्रवादी वा वामपन्थी छैनन्, यीसबैको भ्रममा पर्नु ठीक नहुने र परियो भने ठगिने निश्चित रहेको भन्दै सबैलाई सचेत गराएका छन् भने वहाँले लेले गठबन्धनको निर्माण कुनै खास एजेन्डाको आधारमा नभएको र यस्तो गठबन्धन वर्त्तमान निर्वाचन प्रणालीको मजाक उडाइरहेको आरोप लगाउँदै मतदाताले समानुपातिक मत कसलाई र कुन आधारमा हाल्ने भन्ने प्रश्न खडा भएको भन्नु भएको थियो ।
खास गरी समानुपातिक समावेशितालाई महत्वहीन बनाईंदै लगिएको वहाँको आरोप थियो । लालले लोसपालाई ईंगित गर्दै केही व्यक्तिहरू आ-आफ्नो सीटको भिक्षाटनमा दरबारहरू धाइरहेको आरोप समेत लगाउनु भएको थियो ।

कार्यकर्त्ता भेलालाई सम्वोधन गर्दै पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले अरु मधेश केन्द्रित दलहरुले मधेशको एजेन्डा बिसाइदिएको कारणले तराई-मधेश लोकतान्त्रिक पार्टी मशाल जलाइराख्न आगाडि आएको हो ।
तमलोपा आन्दोलनकारी र मधेशवादीहरूको पार्टी भएको सन्देश वडा र गाउँमा संगठनको आधार खडा गर्दै पुर्याउन आग्रह गर्दै क्षेत्रीयता हाम्रो घोषित वास्तविकता हो बताउनु भएको थियो । संघीय संरचनामा क्षेत्रीय अवधारण नरहे वास्विक स्वशासन नहुने वहाँको दावी थियो ।
कार्यकर्त्ता भेलालाई पार्टीका नेताहरू श्रीमती बिभा ठाकुर, श्रीमती बिमला साह, रामजी राय, उमेश कुमार मण्डल, सत्यनारायण साह, रामकृपाल साह, सुनिल राय आदिले सम्वोधन गरेका हुन ।

