काठमाडौं,०३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिले साँठगाँठको प्रणाली भएको बताएका हुन् । उनले कांग्रेससँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गरे ।
आफ्नो कांग्रेससंग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केही नेताहरू त्रसित भएको उनले बताए। एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले कांग्रेसभित्रै ठूलो गडबडी रहेको हुनसक्ने उनको भनाइ छ ।
त्यस्तै उनले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगाएत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गरे ।
ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए ।