spot_img

आगामी आवमा विद्युत् उत्पादन ५,३३५ मेगावाट पुर्‍याउने लक्ष्य

spot_img
spot_img

काठमाडौं, ३० जेठ । सरकारले आगामी आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वार्षिक विकास कार्यक्रमअनुसार एक वर्षमै थप १ हजार ४० मेगावाट उत्पादन क्षमता वृद्धि गर्ने योजना छ।

मन्त्रालयले निर्माणाधीन तथा अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष पहल गर्ने जनाएको छ। साथै, निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई सहजीकरण गर्दै निर्धारित समयमै सम्पन्न गरिने लक्ष्य राखिएको छ।

विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। ६६ केभी प्रसारण लाइन ७,०४८ सर्किट किलोमिटरबाट बढाएर ७,८०८ सर्किट किलोमिटर र ३३ केभी लाइन ८,३२५ बाट ८,४२९ सर्किट किलोमिटर पुर्‍याइने योजना छ।

आगामी वर्ष प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टा पुर्‍याउने तथा चुहावट १२.०३ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ। लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट र सौर्य ऊर्जाबाट ९९ मेगावाट थप उत्पादन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

त्यसैगरी, सिँचाइतर्फ थप १५ हजार ७७६ हेक्टर जमिनमा सुविधा विस्तार गर्ने, ७० किलोमिटर तटबन्ध निर्माण गर्ने र २१० हेक्टर जमिन उकास गर्ने योजना अघि सारिएको छ।

आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यसमेत राखिएको छ, जसले विद्युत् आपूर्ति प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। काठमाडौं उपत्यकाको मध्यभाग हुँदै नयाँ प्रसारण लाइन निर्माण गर्ने योजना पनि कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जलविद्युत् विकासले ऊर्जा आपूर्ति मात्र नभई आर्थिक वृद्धि, औद्योगिकीकरण, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय